चुनावको तयारीमा जुट्ने तरखरमा एकीकृत समाजवादी, पार्टी एकता प्राथमिकतामा

हिमाल प्रेस २७ असोज २०८२ १०:३५ | Monday, October 13, 2025
चुनावको तयारीमा जुट्ने तरखरमा एकीकृत समाजवादी, पार्टी एकता प्राथमिकतामा

काठमाडौँ- नेकपा एकीकृत समाजवादी केन्द्रीय सचिवालयको एघारौँ बैठकले पार्टी एकताका चलिरहेको वार्तामा निष्कर्षमा पुर्‍याउनेदेखि फागुन २१ मा तोकिएको निर्वाचन तयारीमा जुट्ने निर्णय गरेको छ।

अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा असोज २४ र २६ गते काठमाडौँमा सम्पन्न बैठकले वर्तमान संकटको समाधान, गणतन्त्र र संविधानको रक्षा एवं निर्वाचनको भरपर्दो वातावरण बनाउन लोकतान्त्रिक गणतन्त्र र संविधान पक्षधर शक्ति र पार्टीहरूबीच संवाद र सहकार्य अघि बढाउने निर्णय समेत गरेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।

उनका अनुसार वामपन्थी, कम्युनिस्ट र समाजवादी पार्टीहरूसँग चलिरहेको एकता सम्बन्धी वार्ता प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउन दशौँ बैठकबाट गठित वार्ता समितिलाई जिम्मेवारी दिने निर्णय गरेको छ । एकीकृत समाजवादीले नेता बेदुराम भुसालको नेतृत्वमा नेताहरू प्रकाश ज्वाला र प्रमेश हमाल रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

त्यस्तै एकीकृत समाजवादीले फागुन २१ को निर्वाचन घोषित मितिमै निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा गर्न सरकार सरोकारवाला सबैको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ । ‘प्रतिनिधिसभाको निर्वाचन घोषित मितिमा, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदै निर्वाचनको तयारीमा जुट्ने’, उपाध्यक्ष ज्वालाले भने,‘पार्टी स्थायी कमिटीको बैठक यही असोज २९ गते र केन्द्रीय कमिटीको भर्चुअल बैठक यही असोज ३० गते गर्ने ।’

त्यस्तै निर्वाचन आयोगले कार्तिक मसान्तसम्म मतदाता नामावलीमा उमेर पुगेका नयाँ मतदाताहरूको नाम दर्ताको काम अघि बढाइरहेकोले उक्त प्रक्रियामा सहभागी हुन सो पार्टीले सबैसँग अपिल गरेको छ । मतदाता नाम दर्ता गर्न सक्रियरुपमा लाग्न पार्टी र जन वर्गीय संगठनका सबै कमिटीहरूलाई निर्देशन समेत दिएको नेता ज्वालाले जानकारी दिए ।

प्रकाशित: २७ असोज २०८२ १०:३५ | Monday, October 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast