 
                             
                                            काठमाडौँ- नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ। एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको हो।
एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले माओवादी केन्द्रसँग एकता गर्ने सर्वसम्मत निर्णय भएको जानकारी दिए।
‘माओवादी केन्द्रलगायत अन्य दल तथा समूहहरूसँग एकता गर्ने निर्णय भएको छ,’ खतिवडाले भने,‘बाँकी प्रक्रिया पूरा गर्न केन्द्रीय सचिवालयलाई जिम्मा दिइएको छ।’
उनले तीन चार दिनभित्रै एकताको घोषणा हुनसक्ने जिकिर गरे। खतिवडाले भने,‘एकताको घोषणा चाँडै हुन्छ। तीन चार दिनभित्रै हामी नयाँ ढंगको एकताको घोषणा गर्छौँ।’
अध्यक्ष माधवकुमार नेपालका साथै उनीनिकट नेताहरू माओवादी केन्द्रसँग एकता गर्ने निर्णयमा पुगे पनि एकीकृत समाजवादीका अन्य नेताहरू भने विरोधमा देखिएका छन्। पार्टीका सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामकुमार झाँक्रीलगायतका नेताहरू एकताको विरोधमा देखिएका छन्।
उपाध्यक्ष खतिवडाले भने छलफलका क्रममा विरोध देखिए पनि निर्णय भने सर्वसम्मत भएको बताए।
‘एकताबारे छलफलका क्रममा विरोध भए पनि निर्णयको क्रममा सर्वसम्मति भएको छ,’ खतिवडाले भने,‘एकताका लागि अब चाँडै प्रक्रिया अगाडि बढ्छ।’
माओवादी केन्द्रसँग एकताका विषयमा एकीकृत समाजवादीभित्र विवाद चुलिएकै बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने ‘पुरानो घरमा फर्किन’ नेताहरूलाई आग्रह गरेका छन्।
‘जो जहाँ भए पनि पुरानो घरमै फर्किनुस्,’ ओलीले भनेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
 