चीनमाथि थप १०० प्रतिशत शुल्क लगाउने ट्रम्पको चेतावनी

हिमाल प्रेस २५ असोज २०८२ ९:३२ | Saturday, October 11, 2025
चीनमाथि थप १०० प्रतिशत शुल्क लगाउने ट्रम्पको चेतावनी फाइल तस्बिर

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप १०० प्रतिशत निर्यात शुल्क लगाउने र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने भनिएको आफ्नो शिखर बैठक रद्द गर्न सक्ने चेतावनी दिएका छन्। उनको यो चेतावनीसँगै अमेरिकातर्फबाट चीनसँगको व्यापारिक तनाव फेरि बढेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार चीनमाथि ‘व्यापारमा असाधारण रूपमा आक्रामक कदम’ चालेको आरोप लगाउँदै ट्रुथ सोसलमा लेखेका छन्, ‘हामी उनीहरूले बनाउने करिब सबै उत्पादनमा ठूला स्तरका निर्यात नियन्त्रण लागू गर्नेछौँ।’ यसैगरी सबै महत्त्वपूर्ण सफ्टवेयरमा पनि नियन्त्रण गरिने उनको भनाइ छ।

ट्रम्पका अनुसार यी नयाँ कदम नोभेम्बर १ देखि लागू हुनेछन्। चीनका गतिविधिका आधारमा त्यसअघि नै लागू हुन सक्ने पनि उनले बताएका छन्।

यसै सात चीनले दुर्लभ खनिज पदार्थ र अन्य महत्त्वपूर्ण खनिज पदार्थको आपूर्ति अवरुद्ध पार्ने गरी नयाँ निर्यात नियन्त्रण नीति घोषणा गरेको छ। नयाँ नियमअनुसार विदेशी कम्पनीहरूले चीनबाट सानो मात्रामा समेत दुर्लभ खनिज मिसिएको वस्तु निर्यात गर्न बेइजिङको अनुमति लिनुपर्नेछ।

चीनको सो कदमको प्रतिक्रिया दिँदै ट्रम्पले अक्टोबरको अन्त्यतिर दक्षिण कोरियामा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनको अवसरमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने भनिएको बैठक रद्द गर्न सक्ने बताएका छन्। बैठकलाई अन्तर्राष्ट्रिय समुदायले अमेरिका–चीन सम्बन्ध स्थिरतर्फ जान सक्ने आशाको संकेतका रूपमा हेरेको छ।

‘यो नीति मलाई होइन, स्वतन्त्र विश्वका सबै नेताहरूलाई अचम्ममा पार्ने खालको हो’, ट्रम्पले लेखेका छन्, ‘म दुई साताभित्र राष्ट्रपति सीसँग भेट्ने तय थियो … तर अब त्यसो गर्न कुनै कारण देखिन्न।’

प्रकाशित: २५ असोज २०८२ ९:३२ | Saturday, October 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast