ट्रम्प हिस्स, नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारियालाई

हिमाल प्रेस २४ असोज २०८२ १५:२२ | Friday, October 10, 2025
ट्रम्प हिस्स, नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारियालाई नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिया कोरिना माचाडो।

काठमाडौँ- यो वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिया कोरिना माचाडोले पाउने भएकी छन्। नोबेल समितिले शुक्रबार शान्ति पुरस्कारको घोषणा गरेको हो।

भेनेजुएलाका जनताका लागि लोकतान्त्रिक अधिकारको प्रवर्धनमा गरेको अथक प्रयास र तानाशाहीबाट लोकतन्त्रतर्फको न्यायपूर्ण र शान्तिका लागि गरेको संघर्षका कारण मारियालाई नोबेल शान्ति पुरस्कार दिने निर्णय भएको समितिले जनाएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक आफूलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने माग गर्दै आएका थिए। ट्रम्ले भन्दै आएका थिए, ‘मलाई यो पुरस्कार दिइएन भने ठूलो अपमान हुनेछ।’

उनका छोरा एरिक ट्रम्प पनि त्यसको समर्थनमा खुलेका थिए। उनले बुबा ट्रम्पले नोबेल पुरस्कार पाउनुपर्ने भन्दै अभियान चलाएका थिए।

ट्रम्पका छोरा एरिकले यसका लागि सामाजिक सञ्जाल एक्समा अभियान सुरु गर्दै लेखेका थिए, ‘यदि तपाईँलाई लाग्छ कि डोनाल्ड ट्रम्प नोबेल शान्ति पुरस्कार योग्य छन् भने यो पोस्ट रिट्विट गर्नुहोस्।’

ट्रम्पले पुरस्कार पाउन नर्वे सरकारमाथि समेत अप्रत्यक्ष दबाब दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। नर्वेका अधिकारीहरूका अनुसार उनले नाटोका पूर्व महासचिव र हालका अर्थमन्त्री येन्स स्टोल्टेनबर्गसँगको टेलिफोन वार्तामा यो पुरस्कारको विषय उठाएका थिए। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू नोबेल समितिसँग ट्रम्पलाई शान्ति पुरस्कार दिन आग्रह गर्ने एकमात्र नेता हुन्।

ट्रम्पको मुख्य असन्तुष्टिचाहिँ सन् २००९ को निर्णयप्रति हो। समितिले उनका राजनीतिक प्रतिस्पर्धी बराक ओबामालाई ‘असाधारण कूटनीतिक प्रयास’ का लागि नोबेल शान्ति पुरस्कार दिएको थियो, त्यो पनि ओबामा पदमा बसेको केही हप्ता नपुग्दै।

ट्रम्पले गत वर्ष भनेका थिए,’मेरो नाम ओबामा भएको भए मलाई १० सेकेन्डमै पुरस्कार दिइन्थ्यो।’

 

 

प्रकाशित: २४ असोज २०८२ १५:२२ | Friday, October 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast