अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। तस्बिर : एपी/रासस
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट हुने आयातमा सय प्रतिशत ट्यारिफ लगाउने बताएका छन्। उनले आगामी नोभेम्बर १ देखि चीनबाट हुने आयातमा सय प्रतिशत ट्यारिफ लगाउने बताएका हुन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल टु्रथ सोशलमा लेखेका छन्,‘अमेरिका अब आवश्यक सफ्टवेयरहरूको निर्यातमा पनि नियन्त्रण गर्नेछ।’
यस हप्ताको सुरूवातमा चीनले दुर्लभ तत्वको निर्यातमा थप प्रतिबन्ध लगाएको थियो।
यसबारे प्रतिक्रिया दिँदै ट्रम्पले शुक्रबार चीनमाथि ‘अत्यन्त शत्रुतापूर्ण’ व्यवहार देखाएको र ‘विश्वलाई आफ्नो नियन्त्रणमा लिन खोजिरहेको’ आरोप लगाएका थिए।
उनले चीनका राष्ट्रपति सी जिनफिङसँग हुने भनिएको भेट रद्द गर्ने धम्कीसमेत दिएका थिए। तर, पछि उनले भेट रद्द नगरेको स्पष्ट पारेका थिए।
ट्रम्पका ती भनाइहरू सार्वजनि भएपछि सेयर बजारमा गिरावट आएको छ।
विश्वका करिब ९० प्रतिशत ‘रेयर अर्थ मिनेरल्स (दुर्लभ तत्व)’ को प्रशोधन चीनमै हुन्छ। यसको प्रयोग सौर्य प्यानलदेखि स्मार्टफोनलगायतका आधुनिक उपकरणमा हुने गरेको छ।
रेयर अर्थ मिनेरल्स १७ धातुका तत्वहरूको समूह हो, जुन धेरै ‘हाइटेक’ उत्पादनहरूको निर्माणका लागि आवश्यक मानिन्छ।



