यस्तो छ लक्ष्मीपूजा गर्ने विधि

हिमाल प्रेस ३ कार्तिक २०८२ ६:५५ | Monday, October 20, 2025
यस्तो छ लक्ष्मीपूजा गर्ने विधि

काठमाडौँ- यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदैछ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भर्‍याङलगायत स्थानमा सरसफाई गरी दीपावली गरिन्छ ।

लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ।

आज एकाबिहानै उठेर स्नानगरी निम्नबमोजिम संकल्प गर्नुपर्छ। मम सर्वापच्छान्तिपूर्वकदीर्घायुष्य बलपुष्टिनैरुज्यादि सकलशुभफलप्राप्त्यर्थं गजतुरगथराज्यैश्वर्यादिसकलसम्पदामुत्तरोत्तराभिवृद्ध्यर्थम् इन्द्रकुबेरसहितश्रीलक्ष्मीपूजनं करिष्ये ।

यो संकल्प गरेर दिनभरि व्रत राख्नुस् र साँझपख दियोहरू सजाउँदै दीपमालिका बनाउनुस् । त्यसपछि पूजाकोठामा वेदी बनाएर सबै पूजाका सामानहरू तयार पारेर पूजा गर्नुस् ।

पूजा सामानमा धूपबत्ती, चन्दन, कपूर, केसर, कुंकुम, अक्षता, अबिर, सिन्दूर, सौभाग्य द्रव्य, रातो चुरा, गाजल, पाउजु, आभूषणहरू, पानको पात, सप्तधान्य, कुश, दूबो, गंगाजल, मह, दही, दूध, उखु, नैवेद्य, मिठाई, तुलसी, चाँदी र सुनको सिक्का, ठूलो दियो र तेल लगायतका कुरा पर्दछन् ।

प्रकाशित: ३ कार्तिक २०८२ ६:५५ | Monday, October 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast