आज तिहारको कुनै पर्व छैन : पन्चांग निर्णायक समिति

हिमाल प्रेस ४ कार्तिक २०८२ ७:५१ | Tuesday, October 21, 2025
आज तिहारको कुनै पर्व छैन : पन्चांग निर्णायक समिति

काठमाडौँ- कात्तिक कृष्ण औँसी भए पनि मंगलबार तिहारका कुनै पनि पर्व परेको छैन।

सामान्यतया कात्तिक कृष्ण औँसीको रात्रिमा लक्ष्मीपूजा गर्ने परम्परा छ । तर औँसी तिथि दिउँसो नै लागेको भन्दै सोमबार राति (साँझ) नै लक्ष्मीपूजा गर्न पन्चांग निर्णायक समितिले निर्देश गरेको थियो। त्यसैले धेरैले मंगलबार बिहान कुकुरपूजा गरी राति लक्ष्मीपूजा गरे।

मूल वैदिक परम्पराका अनुयायीले भने तिथि नटुट्ने भन्दै मंगलबार नै लक्ष्मीपूजाको तयारी गरेका छन्। यस्तै काठमाडौँ उपत्यकाका नेवार समुदायमध्ये कतिपयले सूर्योदय हुँदाकै तिथिमा कर्म गर्ने भन्दै मंगलबार नै लक्ष्मीपूजा गर्ने भएका छन्।

यता भक्तपुर नगरपालिकाका नेवार समुदायले भने कात्तिक कृष्ण प्रतिपदामा गरिने कर्म म्हपूजा (आत्मपूजा) मंगलबार गर्दैछन्। समितिबाट सिफारिसप्राप्त पात्रोमा ४ गते मंगलबार २५ घडी ५३ पला अर्थात् अपराह्न ४ बजेर २९ मिनेटसम्म औँसी छ। त्यसपछि प्रतिपदा तिथि लाग्छ।

बेलुकी नै गर्ने कर्म भएकाले म्हपूजा प्रतिपदामै मंगलबार गर्ने भक्तपुर नगरपालिकाले बताएको छ। तलेजुका पुजारी, ज्योतिषी र विज्ञको छलफलपछि नगरपालिकाले सोमबार लक्ष्मीपूजा, मंगलबार म्हपूजा र बुधबार किजा (भाइ) पूजा गर्ने निर्णय गरिएको थियो।

समितिले भने मंगलबार तिहारअन्तर्गतका कुनै पनि कर्म गर्न नसकिने बताएको छ। बुधबार नै गाईगोरुपूजासहित गोवर्धनपूजा गर्न निर्देश गरेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले बताए। यस्तै नेपाल संवतको नयाँ वर्षसँगै म्हपूजा पनि बुधबार नै परेको उनले जानकारी दिए। ‘आज (मंगलबार) तिहारका कुनै पर्व परेको छैन। औँसी भएकाले केवल पितृकार्य मात्र गर्न सकिन्छ’, उनले भने।

प्रकाशित: ४ कार्तिक २०८२ ७:५१ | Tuesday, October 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast