काठमाडौँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सुरु गरेको हस्ताक्षर अभियानले पार्टी फुट्ने अवस्था सिर्जना गर्न सक्ने बताएका छन्।
बिहीबार बिहान आफ्नै निवासमा केही नेतासँगको छलफलका क्रममा उनले अहिले पार्टीका घरभित्र मात्रै आगो लागेको भए पनि अब संगठनमै आगो लाग्ने जोखिम बढेको बताएका थिए।
उनले भने,‘दुवै महामन्त्रीले चलाइरहेको हस्ताक्षर अभियानले पार्टीलाई फुटाउने दिशातर्फ धकेल्न सक्छ। हस्ताक्षर गर्ने र नगर्ने समूह छुट्टिएपछि स्वाभाविक रूपमा पार्टी दुई धारमा बाँडिन सक्छ।’
पार्टीभित्र विशेष महाधिवेशनको माग उठिरहेका बेला यी दुई महामन्त्रीले थालेको अभियानबारे कांग्रेसको केन्द्रीय समितिमा छलफल हुने तयारी भइरहेको छ।
यस क्रममा सिटौलाले नेताहरूलाई संगठनभित्र अशान्ति बढाउने कार्य नगर्न आग्रह गरे। ‘घरमा त आगो लागिसक्यो, अब पार्टी र संगठनमा पनि आगो नलगाऔं,’ उनले भने, ‘कम्तिमा संगठन जल्ने काम कसैले नगरोस्।’

                                             
                                             
                                             
                                             
                                             

