युवाको चाहनाअनुसार पार्टी रूपान्तरण हुँदैछ : प्रचण्ड

हिमाल प्रेस २ कार्तिक २०८२ ११:३५ | Sunday, October 19, 2025
युवाको चाहनाअनुसार पार्टी रूपान्तरण हुँदैछ : प्रचण्ड

ललितपुर- नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अहिलेको परिस्थिति असाधारण र जटिल रहेको बताउँदै अप्ठ्यारो परिस्थितिमा पार्टीको भूमिका बढेको बताएका छन्।

माओवादी केन्द्र ललितपुर महानगरपालिका समितिको आयोजनामा आज महालक्ष्मीस्थानमा भएको नेपाल संवत् ११४६ को उपलक्ष्यमा आयोजित शुभकामना आदनप्रदान, चियापान तथा भेटघाट कार्यक्रममा उनले अहिलेको अवस्थामा पार्टीलाई ठूलो जिम्मेवारी आएकाले १० बुँदे मार्गदर्शन जारी गरिएको बताए।

‘गत भदौ २३ गते जेनजीले बेथिति, भ्रष्टाचार र कुशासनको विरुद्धमा आन्दोलित भएर राजनीति र देशप्रतिको मायाका साथै सुधारका लागि शक्ति प्रदर्शन गरेको हो तर भदौ २४ गतेको आन्दोलनले देशमा कति खतरनक ढंगले गलत प्रवृत्तिको विकास हुँदैछ भन्ने पनि शिक्षा दिएको छ,यो हामीले बुझ्नुपर्छ,त्यसपछि हामी सबैले मुलुकमा राज्यविहीनताको अवस्थालाई अन्त्य गर्न भूमिका निर्वाह गर्‍यौं’ उनले भने।

संयोजक प्रचण्डले जेनजी आन्दोलनका माग पनि पार्टीकै माग भएकाले आफूहरूले समर्थन गरेको बताउँदै युवाको चाहाना र भावनाअनुसार पार्टी रूपान्तरण हुनुपर्नेमा जोड दिए। ‘परिवर्तित परिस्थितिमा पनि रुपान्तरण हुने पार्टी माओवादी हो,जेनजी युवासँग पनि निरन्तर संवाद र छलफल भइरहेको छ,संविधान संशोधन गरेर उनीहरूले बुझ्नुपर्छ, क्रान्तिकारीहरूले दुष्मन र मित्र चिन्नुपर्छ, यो कुरा नवयुवाले बुझ्नुपर्छ’, उनले भने।

उनले सुशासन, सामाजिक न्याय, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विषयमा आमजनता र युवालाई बुझाउन आवश्यक रहेको बताए। ‘लेनिनले भनेको जस्तो क्रान्तिकारी पार्टीले र नेताले मात्र गल्ती स्वीकार गर्छन्, बुर्जुवा र प्रतिक्रान्तिहरूले गल्ती स्वीकार गर्दैनन्, जनताको नेतृत्व गर्ने पार्टीका रूपमा हामी फेरि रुपान्तरण हुनुपर्नेछ, भ्रष्टाचारीको संरक्षण गर्नेहरू र क्रान्तिकारीहरू एकै हैनन्’, उनले भने।

उनले प्रतिक्रियावादी र प्रतिक्रान्तिवादीहरूले पूर्वसभामुख कृष्णबहादुर महरालाई गलत सन्देश, बेइमानी र षड्यन्त्रको सुरुवात गरेको धारणा राखे।

संयोजक प्रचण्डले पार्टीको नेतृत्वमा को हुनुपर्छ वा को हुनुहुँदैन भनेर पत्रकारहरूले भन्ने होइन भन्दै त्यसको निराकरण सम्बन्धित पार्टीका सदस्यहरूले गर्ने विषय भएकामा ध्यानाकर्षण गराए।

प्रकाशित: २ कार्तिक २०८२ ११:३५ | Sunday, October 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast