सेयर बजारमा ओरालो : एक वर्षमा पहिलोपटक २५ सयभन्दा तल पुग्यो परिसूचक

हिमाल प्रेस ३० असोज २०८२ १६:०७ | Thursday, October 16, 2025
सेयर बजारमा ओरालो : एक वर्षमा पहिलोपटक २५ सयभन्दा तल पुग्यो परिसूचक

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार लगातार तेस्रो दिन घट्दै १८.४ अंकले ओरालो लागेर २,४८७.१७ अंकमा बन्द भएको छ। बिहीबार साताको अन्तिम कारोबार दिन हो। यो गिरावटसँगै नेप्से परिसूचक गत वर्ष असोज १३ पछि पहिलोपटक २५ सय अंकभन्दा तल झरेको हो। सो दिन नेप्से २,४६४.४० अंकमा बन्द भएको थियो।

यो साता नेप्से परिसूचकले ९५.०१ अंक गुमाएको छ। बुधबार नेप्से परिसूचक २२ दशमलव ५८ अंकले घटेर दुई हजार ५०५ दशमलव ५८ को विन्दुमा आएको थियो। यसैगरी मंगलबार नेप्से परिसूचक १९.४३ अंकले घटेर दुई हजार ५२८.१६ को बिन्दुमा कायम भएको थियो।

बिहीबारको कारोबारमा १९७ कम्पनीका सेयर मूल्य घटेका छन् भने ४५ कम्पनीका बढेका छन्। नौ कम्पनीका सेयर मूल्य यथावत् रहे। मुक्तिनाथ विकास बैंक सर्वाधिक कारोबार भएको कम्पनी रह्यो। सो कम्पनीको १५ करोड ३० लाख ९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यसपछि नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड र शिवम् सिमेन्ट क्रमशः १३ करोड ४० लाख ६० हजार र ११ करोड २८ लाख ७० हजार रुपैयाँको कारोबारसहित दोस्रो र तेस्रो स्थानमा छन्।

समग्र बजार कारोबार बढ्दै तीन अर्ब २७ करोड रुपैयाँ पुगेको छ। बिहीबार कुल ७६ लाख ४० हजार कित्ता सेयर ३६ हजार ५३१ कारोबारमार्फत किनबेच भएका छन्। बैंकिङ र म्युचुअल फन्डबाहेक सबै उपपरिसूचक घटेका छन्।

प्रकाशित: ३० असोज २०८२ १६:०७ | Thursday, October 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast