तिहारका लागि भेडाच्याङ्ग्रा

हिमाल प्रेस २ कार्तिक २०८२ २०:४१ | Sunday, October 19, 2025
तिहारका लागि भेडाच्याङ्ग्रा

मुस्ताङ- मुस्ताङमा तिहार पर्वका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न थालिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार तिहारका लागि मुस्ताङ र डोल्पाबाट झण्डै एक हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ।

यसअघि दसैँमा मुस्ताङसहित डोल्पा, मुगु, जुम्लालगायत स्थानबाट १६ हजार भेडाच्याङ्ग्रा बेनी–जोमसोम सडकमार्ग हुँदै बिक्रीका लागि अन्यत्र लगिएको पशु चिकित्सक लालमणि अर्यालले जानकारी दिए। दसैँ तथा तिहारमा भेडाच्याङ्ग्राको माग अत्यधिक हुने गरेको उनले बताए।

घरपझोङ–४ जोमसोमका व्यापारी पेम्बाछिरिङ रोकायाले ८० च्याङ्ग्रा तिहारका लागि बजारमा पुर्‍याएका छन्। उनले दसैँमा ३०० च्याङ्ग्रा बिक्रीका लागि पोखरा पुर्‍याएका थिए।

मुस्ताङबाट खेदाएर बेँसी झार्दै गरेका व्यापारी रोकायले म्याग्दीको तातोपानीबाट ट्रकमा ढुवानी गरी पोखरा पुर्‍याएका हुन्। दसैँमा प्रतिच्याङ्ग्रामा पाँच हजारसम्म घाटा भएको उनले बताए।

तिहारका लागि खरिद गरिएको च्याङ्ग्रा खोरमा नै ३० हजार परेको र थोरै च्याङ्ग्रा भएकाले सहजै बिक्री हुन्छ भन्ने लागेको व्यापारी रोकाया बताउँछन्।

मुस्ताङबाट पोखरा पुर्‍याउँदा प्रतिच्याङ्ग्राको ढुवानी खर्च एक हजार ५०० लाग्ने उनको भनाइ छ। विगत १२ वर्षदेखि निरन्तर च्याङ्ग्राको व्यापार गर्दै आएका रोकायाले च्याङ्ग्राको व्यापारमा जोखिम हुने गरेको बताए।

मुस्ताङका पाँच स्थानीय तहमा ५७ हजार बढी भेडाच्याङ्ग्रा पालन गरिएको छ, जसमध्ये  २५ प्रतिशत मात्रै भेडाच्याङ्ग्रा बिक्री भएको छ। हिमाली जिल्लामा पालन गरिएका भेडाच्याङ्ग्राको मासु स्वादिलो र पोषिलो हुने भएकाले उपभोक्ताले बढी रुचाउने गर्छन्। रासस

प्रकाशित: २ कार्तिक २०८२ २०:४१ | Sunday, October 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast