सुडानको अल–फासेरमा आरएसएफको ड्रोन आक्रमण : ३० जनाको मृत्यु

हिमाल प्रेस २५ असोज २०८२ १९:५२ | Saturday, October 11, 2025
सुडानको अल–फासेरमा आरएसएफको ड्रोन आक्रमण : ३० जनाको मृत्यु

काठमाडौँ– पश्चिमी सुडानको घेराबन्दीमा परेको सहर अल–फासेरमा अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) द्वारा गरिएको ड्रोन आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको स्थानीय कार्यकर्ता समूहले जनाएको छ।

एल–फासेर प्रतिरोध समितिका अनुसार आरएसएफले विश्वविद्यालयको मैदानभित्र रहेको दार अल–अर्काम विस्थापन केन्द्रमा लक्षित हमला गरेको हो। उक्त केन्द्रमा युद्धबाट विस्थापित सयौँ नागरिक आश्रय लिएर बसेका थिए। समितिले विज्ञप्ति जारी गर्दै यो आक्रमणलाई ‘नरसंहार’ को संज्ञा दिँदै अन्तर्राष्ट्रिय समुदायलाई तत्काल हस्तक्षेपका लागि आग्रह गरेको छ।

समितिका कार्यकर्ताहरूका अनुसार धेरै शवहरू अझै भूमिगत आश्रयमा फसेका छन्। उनीहरूले भनेका छन्, ‘एल–फासेर अहिले भोकमरी र हिंसाको कारण खुला मूर्दाघरमा परिणत भएको छ।’

स्थानीय प्रतिरोध समितिहरू सुडानमा नागरिक सहायता समन्वय गर्ने र युद्ध अपराध तथा अत्याचारका घटनाहरू अभिलेख गर्ने स्वयंसेवी समूह हुन्।

आरएसएफ र सुडानको नियमित सेनाबीचको युद्ध सन् २०२३ को अप्रिलदेखि जारी छ। यस भीषण द्वन्द्वले दशौँ हजार मानिसको ज्यान लिएको छ, लाखौँ नागरिकलाई विस्थापन गरेको छ र करिब दुई करोड ५० लाख सुडानी नागरिकलाई तीव्र भोकमरीको जोखिममा पु¥याएको छ।

अल–फासेर अहिले डार्फरको विशाल क्षेत्रमा आरएसएफको नियन्त्रणबाट अझै पनि स्वतन्त्र रहेको अन्तिम राज्य राजधानी बनेको छ। आरएसएफ पश्चिम सुडानमा आफ्नो शक्ति सुदृढ गर्न प्रयत्नशील रहेकाले यो क्षेत्र अहिले युद्धको नयाँ रणनीतिक मोर्चा बनेको छ।

अहिले यो सहर आरएसएफद्वारा करिब १८ महिनादेखि घेराबन्दीमा छ। यहाँका करिब चार लाख नागरिक अत्यन्त कठिन परिस्थितिमा बाँचेका छन्। खाद्यान्न र आवश्यक वस्तुहरूको आपूर्ति पूर्णरूपमा बन्द छ।

स्थानीय बासिन्दाहरूका अनुसार पशुखाद्य समेत सकिँदै गएको छ र अहिले एक झोलामा अन्न किन्न सयौँ अमेरिकी डलर खर्च गर्नुपर्ने अवस्था आएको छ।-रासस/एएफपी

प्रकाशित: २५ असोज २०८२ १९:५२ | Saturday, October 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast