मुख्यमन्त्रीबाट राजीनामा दिँदै सतिश सिंहले भने- मेरो चरित्रहत्या र मिडिया ट्रायल गरियो

हिमाल प्रेस २८ असोज २०८२ १५:५७ | Tuesday, October 14, 2025
मुख्यमन्त्रीबाट राजीनामा दिँदै सतिश सिंहले भने- मेरो चरित्रहत्या र मिडिया ट्रायल  गरियो

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुअघि नै पदबाट राजीनामा दिएका छन्। राजीनामा घोषणा गर्दै उनले आफ्नै पार्टी जनमतले ‘प्रपञ्च रचेको’ र सरकारमा सहभागी दलहरूले ‘बचन फेरेको’ आरोप लगाएका छन्।

‘म सत्ता र पदका लागि होइन जनताको हित र संविधानको रक्षाका लागि यहाँ उभिएको हुँ,’ सिंहले भने,‘वर्तमान परिस्थितिमा मार्ग प्रशस्त गर्दै म मुख्यमन्त्रीको पदबाट राजीनामा गर्दछु।’

सिंहले राजीनामा दिन तयार भइरहँदा पार्टीभित्रबाट आफूविरुद्ध षड्यन्त्र भएको दाबी पनि गरे। ‘राजीनामा दिने तयारी गरिरहँदा मलाई एक शब्द नसोधी फिर्ता बोलाउने पत्र सामाजिक सञ्जालमा सार्वजनिक गरियो,’ उनले भने, ‘यो तानाशाही प्रवृत्ति होइन भने के हो? मेरो चरित्रहत्या नै गरियो।’

उनले जनमत पार्टीले ‘मिडिया ट्रायल’ गर्दै आफूविरुद्ध गलत भाष्य निर्माण गरेको आरोप पनि लगाए। सिंहका अनुसार सरकारमा सहभागी दल र प्रतिपक्षका सांसदहरूले समेत उनलाई राजीनामा नदिन सुझाव दिएका थिए।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको स्वकीय सचिव टीकाराम उप्रेतीले मुख्यमन्त्री सिंहको राजीनामा स्वीकृत भइसकेको बताए। उनले भने, ‘मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएको पत्र स्वीकृत भएको छ।’

नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टीले नयाँ सरकार गठनका लागि दाबी पेस गरेको पनि उनले जानकारी दिए।

प्रकाशित: २८ असोज २०८२ १५:५७ | Tuesday, October 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast