७ राजनीतिक दलका नेतासँग छलफल गर्दै प्रधानमन्त्री

हिमाल प्रेस ४ कार्तिक २०८२ ७:०१ | Tuesday, October 21, 2025
७ राजनीतिक दलका नेतासँग छलफल गर्दै प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की। तस्बिर : रासस

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीबारे आज सात राजनीतिक दलका नेतासँग छलफल गर्दै छिन्।

कार्कीले राष्ट्रिय मान्यता प्राप्त सात दलका २/२ जना प्रतिनिधिलाई छलफलका लागि बोलाएको उनको सचिवालयले जनाएको छ।

छलफल आज (मंगलबार) दिउँसो ४ बजेका लागि छलफल तय भएको छ। आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचन तयारीबारे प्रधानमन्त्रीले विभिन्न दलका नेतासँग अलग-अलग वार्ता तथा छलफल गर्दै आए पनि यसपटक भने उनले संयुक्तरूपमा दलका प्रतिनिधिसँग छलफल गर्न लागेकी हुन्।

प्रधानमन्त्रीले कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपासहितका दलका नेतासँग निर्वाचन तयारीको विषयमा छलफल गर्न लागेकी हुन्।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हटेर अहिले कार्की नेतृत्वको सरकार गठन भएको हो।

कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउने म्यान्डेट पाएको छ। निर्वाचनबारे दलसँग छलफल नगरेको भन्दै नेताहरूले सरकारको आलोचना गरिरहेको बेला उनले दलका नेतासँगको छलफल तय गरेकी हुन्।

छलफलका लागि सबै दललाई पत्र पठाइएको र फोन गरेरसमेत जानकारी गराइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सञ्चारमन्त्री जगदिश खरेलले सातै दलका नेतालाई खबर गरेको जानकारी प्रधानमन्त्री कार्कीलाई गराएका छन्।

प्रकाशित: ४ कार्तिक २०८२ ७:०१ | Tuesday, October 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast