राष्ट्रपति पौडेलले गरे गुह्येश्वरीमा अर्घ्यदान

हिमाल प्रेस १० कार्तिक २०८२ १५:११ | Monday, October 27, 2025
राष्ट्रपति पौडेलले गरे गुह्येश्वरीमा अर्घ्यदान

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघि बागमती किनारमा निर्माण गरिएको छठ पूजास्थल गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेका छन्।

छठ पूजाका लागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित गुह्येश्वरी पुगेकी थिइन्। राष्ट्रपति पौडेललाई राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, पशुपति क्षेत्र विकास कोष र गुह्येश्वरी छठ पूजा समितिका पदाधिकारीहरुले स्वागत गरेका थिए।

देशका विभिन्न भागमा भव्य रुपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ।

छठ पर्वका अवसरमा सोमबार अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि सजाइएको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानलाई पनि सजाउने गरिन्छ। यहाँको साजसज्जा हेर्न भक्तजनको घुइँचो लागेको छ। भजन एवं भक्ति संगीतले पशुपति क्षेत्रको वाग्मती नदी किनारको वातावरण मेलामय बनेको छ।

यस वर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको बागमती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, कुपण्डोल, सानेपास्थित रामतीर्थलगायत स्थानका नख्खु खोला, विष्णुमती र बागमती नदी किनारमा छठघाट निर्माण गरी सजाइएको छ। यी स्थानमा छठघाटसँगै छठी माताको माटाको मूर्ति निर्माण गरिएको छ। जहाँ आज अस्ताउँदो सूर्यसँगै छठी माताको पूजा आराधना गरिन्छ।

गुह्येश्वरीमा यस वर्ष विगत वर्षभन्दा बढी छठघाटको निर्माण गरिएको छ। विगतमा करिब ६०० छठघाट निर्माण गरिएकामा यस वर्ष ७०० भन्दा बढी निर्माण गरिएका छन्। एउटा छठघाटको एक हजार ५०० शुल्क लिएर भक्तजनलाई उपलब्ध गराइएको छठ पूजा समितिका अनिल सिंहले जानकारी दिए।

आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएका वर्तालु मंगलबार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन्। बिहान उदाउँदा सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ।

छठ व्रत गरेमा मनले चिताएको पूरा हुने सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ। महाभारतकालमा द्रोपदीसहित पाँच पाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल गरेका उल्लेख गरिएको छ। यसै विश्वासका आधारमा यो पर्व मनाउने परम्परा सुरु भएको विश्वास रहीआएको छ। रासस

प्रकाशित: १० कार्तिक २०८२ १५:११ | Monday, October 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast