पूर्वकेन्द्रित वर्षा : मोरङमा सबैभन्दा बढी २५० मिलीमिटर

हिमाल प्रेस १४ कार्तिक २०८२ २१:१७ | Friday, October 31, 2025
18
SHARES
पूर्वकेन्द्रित वर्षा : मोरङमा सबैभन्दा बढी २५० मिलीमिटर फाइल तस्बिर

काठमाडौँ– बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ का कारण बुधबार रातिबाट सक्रिय भएको वर्षा पार्ने प्रणाली नेपालको पूर्वकेन्द्रित भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको असरका कारण कोशी र मधेश प्रदेशका धेरै जिल्लामा प्रभाव पारिरहेको छ भने बागमती र गण्डकी प्रदेशका केही जिल्लामा असर गरेको छ।

आज राति कोशी केन्द्रित भएर वर्षा हुने जनाउँदै विभागका सूचना अधिकारी दिनकर कायस्थले रातिबाट क्रमशः सुधार हुँदै जाने पनि बताए। काठमाडौँ उपत्यकालगायत मध्यक्षेत्रमा वर्षा घट्दो क्रममा रहेको पनि विभागले जनाएको छ।

विभागकाअनुसार हाल मोन्था चक्रवात भारतको छत्तिसगढ आसपासमा न्यून चापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेकामा आज रातिबाट सो प्रभाव कम भई क्रमिक रूपमा मौसममा सुधार हुनेछ। साथै नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।

उनले अहिले कोशी प्रदेशमा पूर्ण बदली र बाँकी भूभागमा साधारणतयादेखि अधिकांश बदली रहेको जानकारी दिए। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

आज राति कोशी र मधेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ। ती क्षेत्रहरूमा दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि तथा पर्यटन, सडक तथा हवाई यातायातका क्षेत्रमा समेत असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन विभागले सबैमा अनुरोध गरेको छ।

कहाँ कति भयो वर्षा?

विभागको साँझ ७ः०० बजेको अभिलेखअनुसार पछिल्लो २४ घण्टामा मोरङको हरैँचामा सबैभन्दा बढी २५० मिलीमिटर वर्षा भएको छ। यो अतिभारी वर्षा हो। झापामा १७२, उदयपुरमा १०३, इलाममा १५५ मिलीमिटर, गोरखामा १६५, मनाङमा ११२.८ मिलीमिटर वर्षा भएको छ। यो धेरै भारी वर्षा हो।

लमजुङमा ८४, सिरहामा ८३ मिलीमिटर वर्षा भएको छ। अन्य धेरै मापन केन्द्रमा ५० देखि ८० मिलीमिटरबीचमा वर्षा भएको छ। अघिल्लो मनसुनी वर्षामा इलाममा २५० मिलीमिटरमाथि वर्षा हुँदा बाढी र पहिरोले ठूलो जनधानको क्षति पु¥याएको थियो। त्यसैले मौसम विज्ञान विभागले आज राति पूर्वमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

प्रकाशित: १४ कार्तिक २०८२ २१:१७ | Friday, October 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast