 
                            
                                            काठमाडौँ- परानको अर्थ हुन्छ व्यक्तिको सास वा प्राण। यही शब्दलाई शीर्षक बनाउँदै दीपकप्रसाद आचार्य ‘काकु’ ले ‘परान’ नामक फिल्म बनाएका छन्। यो उनको डेब्यू निर्देशकीय फिल्म हो।
सासको कथा कस्तो होला? यो फिल्मको ट्यागलाइनले केही स्पष्ट पार्न खोजेको छ, ‘सासले होइन, साथले चल्ने।’ यही ट्यागलाइन वरिपरिनै कथा घुमेको छ।
पारिवारिक कथामा बनेको ‘परान’ले अहिलेको नेपाली समाजमा भइरहेको यथार्थ कथालाई पर्दामा उतारेको छ। बाआमाको सास कसरी सन्तानसँग अडिएको हुन्छ भन्ने नै यो फिल्मको मुख्य भाव हो। जसलाई पर्दामा निर्देशक आचार्यले सन्तान बिदेसिने र घरमा एक्लिएका बाआमाको भावनात्मक कथालाई जोडेर मार्मिक रूपमा प्रस्तुत गरेका छन्।
फिल्मको कथालाई आमाभन्दा पनि बुबाको पक्षबाट देखाउन खोजिएको छ। बुबाको भूमिकामा छन् वरिष्ठ अभिनेता नीर शाह। उनकै छोराबुहारीको भूमिकामा छन् अन्य पात्र केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविण खतिवडा, सुब्रतराज आचार्यलगायत। पत्नी बनेकी छन् अभिनेत्री पूजा चन्द। र, घरमा काम गर्ने सहयोगीको रूपमा अभिनय गरेका बुद्धि तामाङ पनि स्मरणयोग्य पात्र हुन्।
फिल्ममा धनकुटाका धर्मनाथ (नीर शाह) र दुर्गादेवी (पूजा चन्द) का तीन छोरा हुन्छन्। जेठोको परिवार अष्ट्रेलिया, माइलाकोे काठमाडौँ र कान्छो बाआमासँगै गाउँमा बस्छ।
कान्छो गोपालनाथ (महेश त्रिपाठी) जो जे.टी.ए. पढेर गाउँमै कुखुरापालन गरेर बसेको छ। कान्छोदेखि धर्मनाथ निकै प्रफुल्लित छन्। कारण हो- कान्छो छोराले आफ्नो साथ नछोड्नु। दुई छोरा आफूबाट टाढा रहे पनि कान्छोले साथ छोड्दैन भन्नेमा धर्मनाथ ढुक्क छन्। त्यसैले उनी साथीभाइ, गाउँ र समाजमा पनि शिर ठाडो गरेर हिँड्छन्।
पढेर पनि छोराले गाउँमै पसिना बगाएकोमा धर्मनाथको मन निकै हर्षित देखिन्छन्। यही कारण होला पहिलेको सामन्ती समाजमा पनि उनको रवाफ छुट्टै छ। उनलाई त्यही कान्छो छोराको साथले आफ्नो सास अडिरहेको भान हुन्छ। बुढेसकालमा एउटा छोरा त साथमा छ भन्नेमा उनी ढुक्क छन्।
यसैबीच जेटीएको तीन महिने तालिमको बहाना बनाउँदै कान्छो छोरा पनि विदेश जाने कुरा गर्छ। त्यसपछि भने धर्मनाथलाई आफ्नो सपना र सासनै फुत्किएको भान हुन्छ। बुबाको सास बनेको गोपाल गाउँ छोडेर बिदेसिएला कि बुबाआमाकै परान बनेर बस्ला? त्यसका लागि भने तपाईं हलसम्मै पुग्नुपर्छ।
फिल्मको विषयवस्तु सन्तानको विदेशप्रतिको मोह र गाउँसहरको बसाइँप्रतिको असन्तुष्टि हो। निर्देशक आचार्यले कथालाई यसरी प्रस्तुत गरेका छन् कि दर्शकलाई आफ्नै परिवारमा घटेकै घटनाझैँ लाग्छ। अझ गहकिला संवाद र कलाकारको परिपक्व अभिनयले यसलाई अझ जीवन्त तुल्याएको छ।
फिल्ममा गाउँ समाजमा देखिरहेको, कतिपय परिवारले भोगिरहेकै कथा भेट्न सकिन्छ। कतिपय विषय विनासंवाद दृश्यबाट नै बुझाउन खोजेका छन्।
धर्मनाथको भूमिकामा अभिनेता शाह आफ्नो उमेरजस्तै परिपक्व देखिएका छन्। समयसँगै जमिनदारको ओहोदाबाट परिवर्तन हुन खोजिरहेका धर्मनाथ सन्तानको खुसीका लागि आफ्नो सास त्याग्न पनि तयार देखिन्छन्। चाहे त्यो छोरा बिदेसिने प्रसंगमा होस् या गाउँघरको जग्गा बेच्ने। मनभित्रको पीडा मनमै राखेर सन्तानको खुसीका लागि उनीहरूको मागलाई सहर्ष स्वीकार गरिदिने भएकाले नै ‘बा’ भनिएको होला भन्ने भावमा प्रस्तुत गरिएको संवादहरूले दर्शकको साँच्चै मन छुन्छ।
आमा जता बसे पनि खुसी हुन सक्छिन् तर बा किन सहरमा मन शान्त गरेर बस्न सक्दैनन्? बाआमालाई गाउँघर नै किन प्यारो हुन्छ? आफू जन्मे, हुर्केको स्थल किन छोड्न चाहँदैनन्? भन्ने विषयलाई यथार्थरूपमा प्रस्तुत गरिएको छ। गाउँघरझैँ सहरमा धर्मनाथले टोलका केटाकेटीलाई मिस्री बाँड््न र बाटोमा जो देख्दा नि बोल्न खोज्नु, एउटा पसलमा गएर घन्टौं बिताउन खोज्नु र गाउँका एक साथी भेटेको खुसीमा तास खेल्न बस्दा आइपर्ने नतिजाबाट फिल्मले प्रस्ट पार्न खोजेको छ।
त्यसो त फिल्ममा मार्मिक पक्षमात्र छैन। धर्मनाथले आफ्नी पत्नीलाई संवादपिच्छे केटी भन्नु, सहर पसेपछि सर्ट र पाइन्टमा रमाउनु, गाउँ फर्किन नातिलाई फकाउन खोज्नुजस्ता प्रसंगमा केही रमाइला दृश्यहरू पनि देख्न पाइन्छ।
बुबाकै भावना र धर्मनाथकै वरिपरि फिल्मको कथा घुमेकाले अन्य पात्रहरूको भूमिका सीमित छन्। कान्छो छोरा गोपाल फिल्मको कथालाई द्वन्द्वमा पुर्याउन प्रयोग भएको देखिन्छ। गोपालकै संवादले फिल्मलाई उत्कर्ष विन्दुमा पुर्याउँछ र अन्त पनि।
फिल्ममा अर्को पात्र छ मानबहादुर लिम्बू, जसको भूमिकामा छन् बुद्धि तामाङ। सधैँ दर्शकलाई हैट भनेर हँसाउने बुद्धि तामाङले यसपटक फरक चरित्रमा काम गरेका छन्। उनी बोल्न नसक्ने माने लिम्बुको भूमिकामा छन्। उनले बोल्न नसके पनि उनको हाउभाउ, काम गर्ने शैलीले दर्शकलाई निकै भावुक बनाउँछ।
मानेले गोपालनाथलाई हरेक काममा सघाउँछ। आफ्नै छोरा नभए पनि धर्मनाथले छोरासरह उनलाई पालेका छन्। बच्चैदेखि आफैँले हुर्काएको। निर्देशकले मानेलाई चलाखीपूर्णरूपमा बोल्न नसक्ने बनाएको देखिन्छ। उनको हाउभाउबाट धर्मनाथको परिवारमात्र होइन, फिल्मको कथालाई पनि बिना संवाद धेरै कुरा बुझाउन खोजिएको छ। तर छोराकै दर्जामा राखेका धर्मनाथले त्यो मानेका लागि किन केही जोहो गरिदिएनन्? भन्ने विषय भने देखाइएको छैन। सायद दोस्रो अध्यायका लागि निर्देशकले केही सोचेका पनि हुन सक्छन्।
फिल्ममा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको भूमिका छ। उनी छिमेकीको भूमिकामा छन्। उनको वास्तविक जीवनमा स्वास्थ्य अवस्था सरल छैन। तर उनको अभिनय भने चकित पार्ने देखिन्छ। उनको पनि छोरा बिदेसिएका छन्। घरमा एक्लै भएका उनी धर्मराउँदै आफ्नो चिहान आफैं खनिरहेका देखिन्छन्। विदेशबाट छोरा आउँदाको खुसीमा उनको फुर्ती र जोस हेर्दा उनको पात्रगत अभिनयमा खोट लगाउने ठाउँ छैन।
पर्दामा ती ‘बा’हरूको कथाले पक्कै पनि हेर्ने दर्शकलाई आफ्नो परिवारको स्मरण गराउँछ। यसर्थ कमेडी सिरियलमा ‘काकु’ बनेर हँसाइरहेका निर्देशक आचार्यले मार्मिक कथामार्फत् दर्शकलाई ‘सरप्राइज’ दिएका छन् भन्न सकिन्छ।
धर्मनाथको घरमा बिहान सधैँ चन्दनको टीका लगाउनु, तुलसीको मोठमा पूजा गरेर शंख बजाउनु, बाहिर यात्रामा निस्कँदा होस् या बाहिरबाट घर फर्कँदा त्यही तुलसीको मोठलाई दाहिने पारेर हिँड्नुलगायत धेरै संस्कारहरूलाई बिनासंवाद दर्शकलले बुझ्ने ढंगमा देखाइएको छ। फिल्मका सबै पात्रहरूका अभियन जीवन्त लाग्छन, जसले गर्दा दर्शक कथा, दृश्य र संवादमा बाँधिन सक्छन्।
धनकुटाको हरियाली डाँडा, सुन्दर गाउँको वस्ती र ठूलाठूला घरहरूले ढाकिएको सहरलाई पर्दामा मिजासिलो ढंगले प्रस्तुत गरिएको छ। अन्त्यमा नेपालीको संस्कार र संस्कृति, जसमा बाआमाको लागि सन्तान र सन्तानका लागि बाआमा भन्ने भाव व्यक्त गरिएको छ।


 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 