ओलीले गुण्डुमा कुटी बनाउने, बालकोटको घर मर्मत नगर्ने

हिमाल प्रेस ५ कार्तिक २०८२ १६:४२ | Wednesday, October 22, 2025
ओलीले गुण्डुमा कुटी बनाउने, बालकोटको घर मर्मत नगर्ने

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा ‘ओली कुटी’ निर्माण गरिने भएको छ।गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा आगजनीमा परेको बालकोटस्थित घर मर्मत नगर्ने निर्णयमा ओली पुगेको एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिए।

बुधबार बालकोटस्थित अध्यक्ष ओलीको जलेको घर अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले उक्त घर ओलीले पहिले नै सरकारका नाममा दिने घोषणा गरिसकेको दाबी गरे। ‘सरकारी सम्पत्ति भएकाले अध्यक्ष ओलीले निजी खर्चमा मर्मत गर्नुहुन्न। अध्यक्ष ओलीका लागि गुण्डुमा नयाँ घर बनाउने निर्णय भएको छ,’ बस्नेतले भने, ‘त्यस घरको नाम ‘ओली कुटी’ राखिने छ।’

उनले बालकोटको जलेको घरलाई राष्ट्रिय सम्पत्तिको रूपमा प्रयोग गर्न सरकारलाई आग्रह गरे। ‘यो घर मर्मत गर्ने हो कि अन्य प्रयोजनमा प्रयोग गर्ने हो त्यो सरकारको जिम्मा हो। यसलाई राष्ट्रिय सम्पत्तिका रूपमा प्रयोग गर्न सकिन्छ,’ बस्नेतले भने।

बुधबार स्वयं ओली घर अवलोकन गर्न पुगेका थिए। अवलोकनपछि उनले आफ्नो घरबाट मूल्यवान् सामग्री लुटिएको र बाँकी सामानमा आगो लगाइएको गुनासो गरेका थिए।

प्रकाशित: ५ कार्तिक २०८२ १६:४२ | Wednesday, October 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast