नयाँ राजनीतिक शक्तिहरूले न्यूनतम साझा नीतिमा एकता गरून् : भट्टराई

हिमाल प्रेस १३ कार्तिक २०८२ १०:३५ | Thursday, October 30, 2025
70
SHARES
नयाँ राजनीतिक शक्तिहरूले न्यूनतम साझा नीतिमा एकता गरून् : भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता डा.बाबुराम भट्टराईले नयाँ तथा वैकल्पिक राजनीतिक शक्ति, व्यक्ति र समूहहरूले न्यूनतम साझा नीति र कार्यक्रममा सहमति गरेर एकताबद्ध हुनुपर्ने बताएका छन्। मंगलबार काठमाडौँमा विभिन्न पार्टीका युवा नेताहरूले मुलुकको राजनीतिक संकट समाधानबारे विभिन्न क्षेत्रका विज्ञसँग विमर्श गरेका थिए।

उक्त विमर्शप्रति डा.भट्टराईले प्रतिक्रिया जनाउँदै भने,‘विभिन्न धारमा रहेका नयाँ तथा वैकल्पिक राजनीतिक शक्ति, व्यक्ति, समूहहरू न्यूनतम साझा विचार (नीति-कार्यक्रम) मा सहमति कायम गरेर एकताबद्ध हुनु र पुराना भ्रष्ट शक्तिहरूबाट देशलाई मुक्त गर्नु आजको अपरिहार्य आवश्यकता हो। आ-आफ्ना क्षेत्रबाट सबैको सकारात्मक पहल होस्।’

‘अबको राजनीतिक निकासः विज्ञहरूसँग विचार, विमर्श, परामर्श’ कार्यक्रम मानुषी यमि भट्टराई, तोसिमा कार्की र रन्जु दर्शनाको संयुक्त पहलमा आयोजना गरिएको थियो। भट्टराई नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), कार्की राष्ट्रिय स्वतन्त्र पार्टी र दर्शना विवेकशील साझा पार्टीमा आबद्ध छन्।

दर्शनाले सबैको योगदान र सुझावहरूले आगामी राजनीतिक दिशाबारे सोच्न सशक्त दृष्टिकोण पनि प्रदान गर्नुपर्ने बताइन्। ‘अन्तर्क्रियात्मक कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, युवा र सरोकारवालाहरूको सक्रिय सहभागिता रह्यो,’ उनले भनेकी छिन्,‘सबैको योगदान र सुझावहरूले आगामी राजनीतिक दिशाबारे सोच्न सशक्त दृष्टिकोण पनि प्रदान गर्‍यो।’

आपसी संवाद र विचार-विमर्श नै सकारात्मक परिवर्तनको बाटो भएको उनको भनाइ छ। ‘आपसी संवाद र विचार-विमर्श नै सकारात्मक परिवर्तनको बाटो हो,’ उनले भनिन्।

कार्कीले संकट समाधानका लागि दलहरुले र युवा पुस्ताले आपसी छलफल बढाउँदै लैजानुपर्नेमा प्रतिद्वन्द्विता राख्ने काम भइरहेको भन्दै गुनासो गरिन्। सामूहिक प्रयत्न मार्फत परिवर्तन संस्थागत गर्न उनको जोड थियो।

कार्यक्रममा लेखक अर्चना थापा, खगेन्द्र संग्रौला, हिमा विष्ट, अमोद प्याकुरेल, दोभान राई, नयनतारा कक्षपति, प्रा. कृष्ण खनाल, सरु जोशी, कैलाश राई, उमेश चाैहानलगायतका व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो।

वक्ताहरूले देशमा राजनीतिक आस्था घट्दै गएको, दलगत स्वार्थले जनअपेक्षा पूरा गर्न नसकेको र नयाँ सोच र नेतृत्वको आवश्यकता बढ्दो रहेको धारणा राखे। वक्ताहरूले युवा पुस्ताको सक्रियता, सहकार्य र निरन्तर संवादमार्फत मात्र देशलाई स्थायित्व र सकारात्मक परिवर्तनको दिशातर्फ लैजान सकिनेमा जोड दिए।

प्रकाशित: १३ कार्तिक २०८२ १०:३५ | Thursday, October 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast