विश्वकप छनोटमा नेपाल, यूएईसँग सुपर ६ को खेल आज

हिमाल प्रेस २६ असोज २०८२ ७:३१ | Sunday, October 12, 2025
विश्वकप छनोटमा नेपाल, यूएईसँग सुपर ६ को खेल आज

काठमाडौँ- आईसीसी विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर६ मा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयानुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर६ मा आएको हो । नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो । नेपालले दोस्रो खेलमा जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो । यूएईविरुद्ध प्रतिस्पर्धामा उत्रँदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ ।

यूएई पनि समूह चरणका दुवै खेलमा जितसहित सुपर६ मा आएको हो। समूह ‘ए’मा यूएईले कतारलाई सात विकेटले हराएको थियो । यूएईले मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

नेपालले सुपर६ मा रहेका पाँचमध्ये चार टिमसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले प्रतिस्पर्धा गर्ने टिममा यूएईसँगै कतार, ओमान र समाओ छन् । नेपालले आफ्नै समूहबाट सुपर६ मा आएको जापानविरुद्ध भने प्रतिस्पर्धा गर्ने छैन। सुपर६ मा नेपालले यी चार टिमविरुद्ध ‘डबल राउन्ड रोबिन’ पद्धतिअनुसार प्रतिस्पर्धा गर्नेछ।

तीन टिमले विश्वकपमा स्थान बनाउने
विश्वकपको यो छनोट प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका कुल नौ टिमको सहभागिता थियो। यसबाट तीन टिमले मात्र आउँदो वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाउनेछन्।

नौलाई प्रत्येकमा तीन टिम रहने गरी तीन समूहमा विभाजन गरिएको थियो। त्यहाँबाट प्रत्येक समूहका शीर्ष दुई टिम सुपर६ मा छनोट भएका हुन्। सुपर६ को शीर्ष तीनमा रहने टिमले विश्वकपमा स्थान बनाउनेछन् ।

छनोटअघि नेपालले तयारीस्वरूप टेस्ट राष्ट्र तथा दुईपटकको टी २० विश्वकप विजेता वेस्ट इन्डिजसँग तीन खेलको शृंखला खेलेको थियो । यूएईमा भएको उक्त शृंखलामा नेपालले २१ को ऐतिहासिक जित निकालेको थियो ।

ओमानमै भएको छनोटअघिको अभ्यास खेलमा नेपालले शतप्रतिशत जित निकालेको थियो । अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो । नेपालले कतारविरुद्ध १६ रनको जित निकालेको थियो ।

प्रकाशित: २६ असोज २०८२ ७:३१ | Sunday, October 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast