बजेट अभावले प्रभावकारी छैन ‘आमा सुरक्षा कार्यक्रम’

हिमाल प्रेस ३० असोज २०८२ ९:३० | Thursday, October 16, 2025
बजेट अभावले प्रभावकारी छैन ‘आमा सुरक्षा कार्यक्रम’ एआईको सहायतामा बनाइएको तस्बिर।

काभ्रेपलाञ्चोक- बजेट अभावका कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा सञ्चालित ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित बनेको छ । चौध वर्षदेखि निरन्तर सञ्चालनमा ल्याइएको उक्त कार्यक्रम स्थगन गरिएको अस्पतालले औपचारिक रूपमा घोषणा गरेको छ ।

संघीय सरकारले सम्झौताअनुसार पर्याप्त बजेट विनियोजन नगरेका कारण चालु आर्थिक वर्ष २०८२र८३ देखि आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न नसकिने ब्यहोराको पत्र बनेपा नगरपालिका कार्यालयले अस्पताललाई पठाएपछि अस्पतालले आउँदो कात्तिक १ गतेदेखि उक्त कार्यक्रम तत्कालका लागि स्थगित गरेको जनाएको हो।

अस्पतालले पत्रकार सम्मेलनमार्फत गराएको जानकारीअनुसार २०६८ सालमा नगर कार्यालय र अस्पतालबीच द्विपक्षीय सम्झौता भई संघीय सरकारको बजेटमा आमा सुरक्षा कार्यक्रम सञ्चालन हुँदै आएको थियो।

नगरले यही असोज २७ गते अस्पताललाई पत्र लेख्दै आउँदो कात्तिक १ गते देखि उक्त कार्यक्रम स्थगित गर्न पत्राचार गरेको थियो। उक्त कार्यक्रममार्फत सुत्केरी हुने महिलाका लागि अस्पतालको तर्फबाट ४८ प्रतिशत, बिरामीको तर्फबाट २० प्रतिशत र संघीय सरकारको तर्फबाट ३२ प्रतिशत खर्च ब्यहोर्ने सहमतिअनुसार सुत्केरी हुँदाका बेला उपचारमा भएको खर्चमा संघीय सरकारले अस्पतालका लागि शल्यक्रिया गर्नुपरेमा १० हजार र सामान्य अवस्थामा रु दुई हजार ५०० उपलब्ध गराउँदै आएको थियो। यस्तै बिरामीको अवस्था हेरेर शल्यक्रिया गर्न रु २५ हजारदेखि रु २९ हजार तथा सामान्य अवस्थामा तीन हजार ६०० देखि रु चार हजारसम्म खर्च हुँदै आएको थियो।

अस्पतालले आमा सुरक्षा कार्यक्रम स्थगित गरे पनि ल्याब टेस्ट, युएसजी र एक्सरेबाहेकका सेवामा दिइरहेको ५० प्रतिशत छुट (जनरल वार्डमा सेवा प्राप्त गर्नेका लागि मात्र) र औषधिमा पाँच प्रतिशत छुट भने अस्पतालको तर्फबाट उपलब्ध गराउँदै आएको अस्पतालका स्वास्थ्य निर्देशक डा एन्जिला बस्नेतले जानकारी दिइन्।

उनका अनुसार रकम तिर्न नसक्ने सुत्केरी हुँदा र भएपछि घर फर्कने खर्च भने अस्पतालको च्यारिटी फन्डबाट सेवा उपलब्ध गराइने छ। अस्पतालका अनुसार आमा सुरक्षा कार्यक्रम सञ्चालन भएको गत आवमा मात्रै एक करोड ४० लाख च्यारिटीबाट उपलब्ध गराइएको थियो ।

चौध वर्षको अवधिमा उक्त कार्यक्रममार्फत २८ हजार महिलालाई सुत्केरी सेवा प्रदान गरिएको अस्पतालको तथ्यांकमा उल्लेख छ। विसं २०१६ मा स्थापित अस्पतालले सुत्केरीको स्वास्थ्य सेवालाई सहज र सरल बनाउने उद्देश्यले ५० प्रतिशत अनुदान अस्पताल स्वंयले ब्यहोर्ने गरी ‘शिर मदर केयर प्रोगाम’ सञ्चालनमा ल्याएको जनाएको छ ।

प्रकाशित: ३० असोज २०८२ ९:३० | Thursday, October 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast