केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल।
काठमाडौँ- नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी चुनावमा जान तत्पर रहँदा अर्को वामपन्थी दल भने चुनाव हुनेमै सशंकित देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनाव केन्द्रित गतिविधि गर्न थालेको छ। जेनजी युवाले गरेको आन्दोलनका कारण सत्ताबाट च्यूत भएको एमालेका नेताहरू प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा अभिव्यक्ति दिइरहेका छन्।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचन नहुने बताए। उनले शुक्रबार एमाले पदाधिकारीको बैठकमा सञ्चारकर्मीसँग भने, ‘राष्ट्रपतिले दिएको म्यान्डेडभन्दा सरकार अर्कै बाटोमा गएको छ। निर्वाचन नहुने र भएमा पनि निष्पक्ष हुनेमा शंका छ।’
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना गरेर देशलाई लोकतन्त्रको ट्रयाकमा फर्काउनुपर्ने बताएका थिए।
एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार भक्तपुरको गुन्डुमा आयोजना गरेको कार्यक्रममा ओलीले लुटपाट, विध्वंसबाट प्रतिनिधिसभा विघटन गरिएको र लोकतन्त्रलाई ट्रयाक आउट गरिएको उल्लेख गर्दै लोकतन्त्रलाई सही बाटोमा फर्काउने पहिलो कदम संसद् पुनर्स्थापना भएको बताए।
अध्यक्ष ओलीले संसद् पुनर्स्थापनाका लागि देशैभरि आन्दोलनको तयारी गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए। अध्यक्ष ओलीले संसद् पुनर्स्थापनामा नेपाली कांग्रेस र अन्य दलले निर्णय गरेर अघि बढ्ने आफूले अपेक्षा गरेको बताए।
माओवादी केन्द्रको महाधिवेशन आयोजक संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनका पक्षमा आफू नेतृत्वको पार्टी प्रतिबद्ध रहेको बताएका छन्।
प्रेस सन्टर नेपालद्वारा शुक्रबार ललितपुरमा आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले जिम्मेवार राजनीतिक दल, नागरिक समाज, बौद्धिक जगत् तथा आमसञ्चारमाध्यमको ध्यान निर्वाचनको वातावरण तयार गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए। उनले आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाई प्रतिनिधिसभामार्फत मुलुकलाई राजनीतिक निकास दिनुपर्ने धारणा व्यक्त गरे।
यसअघि समितिको गत सोमबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भनेका थिए, ‘घोषित मितिमा निर्वाचन हुनुपर्छ। सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने हो। हाम्रो पार्टी सक्रियताका साथ निर्वाचनमा भाग लिन्छ र अघि बढ्छ।’
प्रचण्डले निर्वाचनमा सहभागिताबारे अन्य दलसँग पनि छलफल भइरहेको जानकारी दिए। उनले भने, ‘अन्य राजनीतिक दलहरुसँग पनि कुराकानी भइरहेको छ। मलाई लाग्छ( केही समयपछि त्यसको परिणाम देखिन्छ।’
नेकपा एकीकृत समाजवादीले आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले निर्वाचनको तयारीसँगै देशभर पार्टीका सबै जनवर्गीय संगठन सक्रिय बनाउने निर्णय गरेको हो।
संविधान र लोकतान्त्रिक प्रणालीको रक्षाका लागि निर्वाचनमा सहभागी हुने निर्णय गरिएको पार्टीका केन्द्रीय उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए। उनका अनुसार त्यसका लागि निर्वाचन अगाडि समान विचारधारा भएका दलबीच तथा वाम समाजवादी पार्टीहरूको सहकार्य र एकता टुंगो लगाउने कार्यसूची बैठकले पारित गरेको छ।
रास्वपाले फागुन २१ का लागि घोषित चुनावका लागि उम्मेदवार छनोट विधिमा प्रदेशमार्फत जिल्ला, निर्वाचन क्षेत्र, पालिका तहसम्मको सुझाव संकलन गरी मस्यौदा तयार गर्न कार्यदल गठन गरेको छ।
पार्टीको शुक्रबार बसेको सचिवालय बैठकले सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सातै प्रदेशका सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित सुझाव संकलन कार्यदल गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए।
उनका अनुसार कार्यदललाई सुझाव संकलनका लागि सात दिनको समयावधि तोकी कात्तिक १५ भित्र उम्मेदवारी आह्वानको तयारी गर्ने निर्णय भएको छ।




