सिकाइ पद्धति पुरानै हुँदा साक्षरता दर घट्दै

हिमाल प्रेस १४ कार्तिक २०८२ १७:३२ | Friday, October 31, 2025
6
SHARES
सिकाइ पद्धति पुरानै हुँदा साक्षरता दर घट्दै

काठमाडौँ- कमजोर र मध्यम आय भएका देशमा प्रयोग भइरहेका शिक्षण पद्धतिले बालबालिकालाई आधारभूत साक्षरता हासिल गर्न नदिँदा उनीहरूको भविष्य र राष्ट्रको आर्थिक विकास दुवै प्रभावित भइरहेको निष्कर्ष नयाँ अध्ययनले निकालेको छ।

ग्लोबल एजुकेसन एभिडेन्स एड्भाइजरी प्यानलका साक्षरता विशेषज्ञहरूले तयार पारेको प्रतिवेदनमा भनिएको छ, ‘समयअनुकूल शिक्षण सिकाइका अभ्यासहरू नअपनाइँदा विद्यार्थी सिकाइमा पछि परेका छन्।’ साथै पुस्तक अभाव, तालिम प्राप्त शिक्षकको कमी, सीमित कक्षा समय, अपरिचित भाषामा पढाइ र विद्यार्थीको सिकाइ स्तरअनुसार नहुने शिक्षणले समस्या थप गहिरो बनाएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन घानामा यसै साता आयोजित शिक्षाका अगुवाहरूको सम्मेलनमा सार्वजनिक गरिएको हो। अध्ययनमा बेलायतको विदेश, राष्ट्रमण्डल र विकास कार्यालय), विश्व बैंक र युनिसेफको सहयोग थियो।

युनिसेफकी शिक्षासम्बन्धी तथा किशोर विकास प्रमुख पिया रेबेलो ब्रिट्टोका अनुसार अध्ययनले प्रारम्भिक साक्षरतामा लगानी गर्नुपर्ने बलियो आर्थिक कारण देखाएको छ। उनले भनिन्, ‘साक्षरता नै हरेक बालबालिकाको यात्राको थालनी हो, जसले भविष्य र अवसर निर्धारण गर्छ।’

पछिल्ला सर्वेक्षणअनुसार विद्यालय भर्ना दर र शिक्षा क्षेत्रमा जीडीपीको ४ प्रतिशत खर्च बढ्दा पनि आधारभूत साक्षरता दर घट्दै गएको छ। सन् २०२४ मा प्रकाशित अध्ययनका अनुसार ४८ देशका पाँच लाखभन्दा बढी विद्यार्थीमध्ये ९० प्रतिशतले तीन वर्षको पढाइपछि पनि अक्षर पहिचान गर्न सकेका छैनन्। यसैगरी उनीहरूले ध्वनि छुट्याउन वा साधारण शब्द पढ्न सकेका छैनन्।

कोभिड–१९ महामारीअघि १० वर्ष उमेरका ५७ प्रतिशत बालबालिकाले सामान्य पाठ पढेर बुझ्न नसक्ने अवस्था थियो। महामारीपछि यो प्रतिशत ७० प्रतिशत पुगेको छ।

अध्ययनअनुसार झन्डै एक–तिहाइ विद्यार्थीले आफूले नबोल्ने वा नबुझ्ने भाषामा शिक्षण सिकाइ हुँदा समस्या परेको बताएका थिए। प्रतिवेदनले आधारभूत शिक्षालाई मातृभाषामा रूपान्तरण गर्न वा गैरमातृभाषी विद्यार्थीका लागि अतिरिक्त समय र सहयोग उपलब्ध गराउन सिफारिस गरेको छ।

साक्षरता सुधारका लागि उच्चारणका ध्वनिहरू बुझ्ने क्षमता, अक्षर र ध्वनिबीचको सम्बन्ध, पढाइको प्रवाह र बोध क्षमतामाथि प्रणालीगत ध्यान दिनुपर्ने प्रतिवेदनले उल्लेख गरेको छ।

विश्व बैंकको तथ्यांकअनुसार कम आय भएका देशहरूमा प्राथमिक विद्यालय भर्ना विशेषगरी १९९० को दशकमा तीव्र रूपमा बढेको थियो। प्रतिवेदनमा उच्च आय भएका देशहरू समेटिएको छैन, किनकि ती देशहरूमा साक्षरता दर धेरै माथि छ।

विश्वभरका शिक्षक संघहरूको महासंघ एजुकेसन इन्टरनेसनलका महासचिव डेविड एडवर्ड्सले भने, ‘शिक्षकहरूले प्रतिवेदनका निष्कर्षलाई स्वागत गरेका छन्। उनीहरू विद्यार्थीलाई सिकाइमा सक्षम बनाउन प्रणालीगत सुधारका लागि तयार छन्।’

प्रकाशित: १४ कार्तिक २०८२ १७:३२ | Friday, October 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast