सुरु भयो काठमाडौँ हरर फिल्म फेस्ट-२०२५

हिमाल प्रेस १४ कार्तिक २०८२ १८:०५
4
SHARES
सुरु भयो काठमाडौँ हरर फिल्म फेस्ट-२०२५

काठमाडौँ- काठमाडौँमा पहिलोपटक आयोजना गरिएको काठमाडौँ हरर फिल्म फेस्ट-२०२५ आजदेखि सुरु भएको छ। शुक्रबार कमलपोखरीस्थित रसियन हाउसमा कार्यक्रम गर्दै फेस्टिभल सुरु गरिएको हो।

फेस्टिभलमा नेपाल फिल्म एण्ड कल्चर एकेडेमीको आयोजनामा र रसियन हाउस तथा रुसको राजदूतावासको सहकार्य छ। तीन दिन सम्म चल्ने फेस्टिभलमा नेपाली फिल्म क्षेत्रमा नयाँ विधा डर, रहस्य र कल्पनाको कलालाई अघि बढाउने उद्देश्य राखिएको नेपाल फिल्म एण्ड कल्चर एकेडेमीका उपाध्यक्ष शिव पुरी बताए।

उद्घाटन समारोहमा महोत्सव निर्देशक रसिक पाठकले हरर फिल्मको भावनात्मक र कलात्मक गहिराइ बताए। उनले भने ‘दशकौँदेखि नेपाली फिल्मले प्रेम, समाज र अध्यात्मलाई अन्वेषण गर्दै आएको छ तर आज हामी नयाँ क्षेत्रमा प्रवेश गरेका छौँ। डर, रहस्य र कल्पना। हरर केवल भूत र छायाको कुरा होइन, यो आफैंभित्र र वरिपरि रहेका अज्ञातसँगको सामना हो,’ उनले भने।

पाठकका अनुसार, हेलोविनको दिनमा सुरु भएको यो फेस्टिभलले नेपाली कथाकार र अन्तर्राष्ट्रिय हररप्रेमीहरूबीच सांस्कृतिक सेतु निर्माण गर्ने लक्ष्य राखेको छ।

फेस्टिभलका मुख्य अतिथि तथा फिल्म विकास बोर्डका अध्यक्ष दिनेश डीसीले हेलोविन र नेपालका गठेँमंगल र गाईजात्राजस्ता परम्परागत चाडबीच समानता उल्लेख गरे।

फिल्मकर्मी तथा नेपाल फिल्म एण्ड कल्चर एकेडेमीका सल्लाहकार तुलसी घिमिरेले फेस्टिभललाई उत्कृष्ट पहल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदानको उत्कृष्ट प्लेटफर्म भएको बताए।

प्रकाशित: १४ कार्तिक २०८२ १८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast