नेपाली किसानसँग सस्तोमा अलैँची किनेर दोब्बर मूल्यमा बेच्छ भारत

हिमाल प्रेस १० कार्तिक २०८२ २०:३९ | Monday, October 27, 2025
नेपाली किसानसँग सस्तोमा अलैँची किनेर दोब्बर मूल्यमा बेच्छ भारत फाइल तस्बिर

काठमाडौँ- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा अलैँची निर्यात झण्डै ३७ प्रतिशत बढेको छ। यसैगरी अलैँचीको मूल्यमा ३३ प्रतिशतले वृद्धि भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

यस अवधिमा नेपालले १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको १,०७२.२० टन अलैँची निर्यात गरेको छ। गत वर्ष यही अवधिमा ७८३.७५ टन अलैँची बिक्रीबाट १ खर्ब २६ अर्ब मूल्यका साथ निर्यात गरिएको थियो।

समीक्षा अवधिभर अलैँची नेपालको सबैभन्दा ठूलो कृषि निर्यात वस्तुका रूपमा रह्यो। व्यापार तथ्यांकअनुसार अलैँचीको सबै निर्यात भारततर्फ गरिएको थियो। भारतमा यसलाई प्रशोधन र प्याकेजिङ गरी ‘मेड इन इन्डिया’ लेबलमा मसलाका रूपमा पाकिस्तान र मध्यपूर्वी देशहरूमा पुनःनिर्यात गरिन्छ। यसरी निर्यात गरिएको प्रशोधित अलैँचीको मूल्य प्रतिकिलो २८ अमेरिकी डलरसम्म पुग्छ।

नेपाली किसानहरू भारतका व्यापारीलाई अलैँची प्रतिकिलो दुई हजार रुपैयाँ (झण्डै १४ अमेरिकी डलर) भन्दा कम मूल्यमा बेच्न बाध्य छन्।

नेपाल विश्वकै करिब ५५ प्रतिशत ठूलो अलैँची उत्पादन गर्ने प्रमुख देश हो। घरेलु स्तरमा प्रशोधन उद्योग अभावका कारण निर्यात आम्दानीबाट नेपाल वञ्चित छ। पूर्वी नेपालका ताप्लेजुङ, इलाम, संखुवासभा, पाँचथर र तेह्रथुमका किसान आफ्नो उत्पादन सस्तोमा भारततर्फ बेच्न बाध्य छन्। यी पाँच जिल्लाबाट मात्रै नेपालको कुल अलैँची उत्पादनको ८० प्रतिशतभन्दा बढी भाग आउँछ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा नेपालले करिब ७ खर्ब ६७ अर्ब बराबरको अलैँची निर्यात गरेको थियो। निर्यात मात्रा केही घटे पनि सात वर्षकै उच्च मूल्यका कारण कुल आम्दानी बढेको थियो।

गत दशकमा अलैँची निर्यात आम्दानीमा ठूलो उतारचढाव देखिएको छ। आव २०७१/७२ मा अलैँची निर्यातबापतको आम्दानी तीन खर्ब ८३ अर्बमा झरेको थियो। यसैगरी आव २०७२/७३ मा चार खर्ब ६३ अर्बको अलैँची निर्यात भएको थियो।

त्यसको पछिल्लो आव २०७३/७४ मा तीन खर्ब नौ अर्बको अलैँची निर्यात भएको थियो। आव २०७४ देखि २०७७ सम्मको तीन वर्षमा निर्यात मूल्य स्थिर थियो। आव २०७६/०७७ मा अलैँची निर्यात आम्दानी ६ खर्ब ९३ अर्बमा उक्लिएको थियो। आव २०७७/०७८ मा अलैँची निर्यान चार खर्ब ७७ अर्ब रुपैयाँमा  घटेको थियो। आव २०७८/७९ मा इतिहासमै सबैभन्दा बढी आठ खर्ब २७ अर्ब रुपैयाँको अलैँची निर्यात भएको भन्सार विभागको तथ्यांक छ।

प्रकाशित: १० कार्तिक २०८२ २०:३९ | Monday, October 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast