आईसीसी टी–२० विश्वकप छनोट : समूह विजेता बन्दै नेपाल सुपर सिक्समा

हिमाल प्रेस २४ असोज २०८२ १९:५६ | Friday, October 10, 2025
आईसीसी टी–२० विश्वकप छनोट : समूह विजेता बन्दै नेपाल सुपर सिक्समा तस्बिर : क्यान

काठमाडौँ- नेपाल आईसीसी टी–२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा प्रवेश गरेको छ। नेपाल समूह विजेता बन्दै टी–२० विश्वकप छनोटको सुपर सिक्समा प्रवेश गरेको हो।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ शुक्रबार सम्पन्न समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले जापानलाई पाँच विकेटले पराजित गर्‍यो। लागातार दोस्रो जितसँगै नेपालले दुई खेलमा चार अंक जोड्यो। पराजित जापान पनि समान खेलबाट दुई अंकका साथ उपविजेता बन्दै सुपर सिक्समा प्रवेश गरेको छ।

सुपर सिक्समा नेपालको दुई अंक रहनेछ। यसअघि दुवै टोलीले कुवेतलाई पराजित गरेका थिए।

जापानले प्रस्तुत गरेको १३२ रनको नेपालले १८ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालका लागि आसिफ शेखले ३८, गुलशन झाले अविजित २८, कुशल भुर्तेलले २१, कप्तान रोहितकुमार पौडेलले १८ र दीपेन्द्रसिंह ऐरीले अविजित १४ रन बनाए। जापानका लागि शोम स्लाटले दुई तथा सबौरिश रविचन्द्रन र डेक्लन सुजुकी म्याककोम्बले समान एक–एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो।

जापानका लागि कप्तान केन्डल काडोवाकी फ्लेमिङले ४६ बलमा ६० रनको योगदान गरे। यसैगरी इसाम रहमानले ३१ र बेन्जामिन इटो डेभिसले १७ रन बनाए।

नेपालका लागि गुलशन झा र सन्दीप लामिछानेले समान दुई तथा सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट लिए।

प्रकाशित: २४ असोज २०८२ १९:५६ | Friday, October 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast