बोल्दाबोल्दै अस्ताएका गौतमले कर्णालीमा विस्तार गरेका थिए शिक्षक संगठन

विजय नेपाल १३ कार्तिक २०८२ १७:२१
1.1k
SHARES
बोल्दाबोल्दै अस्ताएका गौतमले कर्णालीमा विस्तार गरेका थिए शिक्षक संगठन

पोखरा– मञ्चमा बोल्दाबोल्दै अस्ताएका नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधनपछि सामाजिक सञ्जालमा उनीप्रति श्रद्धाञ्जलीका शब्द ओइरिरहेका छन्। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा ४, भैरवस्थान स्थायी बासिन्दा भएका ६३ वर्षीय गौतम लामो समयदेखि बुटवल बसोबास गर्दै आएका थिए।

रूपन्देही जिल्लाका १३ वटा उद्योगको ट्रंकलाइन रकम नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले गरेको विद्युत् कटौतीको विरोधमा बिहीबार भैरहवास्थित विद्युत् कार्यालयअगाडि सम्बोधनका क्रममा गौतम ढलेका थिए। अचानक ढलेका गौतमलाई उपचारका लागि मणिग्रामको क्रिमसन अस्पताल पुर्‍याउनेबित्तिकै उनको मृत्यु भएको थियो।

पारिवारिक स्रोतका अनुसार उनी मधुमेह रोगबाट पीडित थिए। उनको निधनबारे पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ। यद्यपि उनलाई हृदयघात भएको हुनसक्ने अनुमान प्रत्यक्षदर्शी तथा परिवारजनले गरेका छन्।

पोखरा निवासी जगदीश गौतमले साहिँलो भाइको खबर सामाजिक सञ्जालबाटै थाहा पाए। भाइ ढलेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको अप्रिय घटना सुनेर उनी स्तब्ध बनेका छन्।

‘के देख्नुपर्‍यो आज, के गर्नु भाइ बोल्दाबोल्दै ढलेछ। हामी त्यता (बुटवल) तिर जाँदै छौँ’, पोखरामा पुस्तक पसल चलाउँदै आएका जगदीशले भने। जगदीशले ८ वर्षअघि पनि यसैगरी सवारी दुर्घटनामा कान्छो भाइ निर्मल गुमाएका थिए। अहिले साहिँला भाइ बोल्दाबोल्दै ढलेका छन्।

उनीहरू पाँच दाजुभाइ छन्। गौतम परिवार सबैजसो पढेलेखेका र शैक्षिक क्षेत्रमा क्रियाशील छन्। जेठा रामप्रसाद गाउँमै शिक्षकबाट अवकाश भएका छन्। माहिला जगदीश लामो समय खानेपानी संस्थानमा जागिरेपछि अहिले व्यवसायमा आबद्ध छन्। पाल्पाली समाज पोखराका पूर्वअध्यक्षसमेत रहेका जगदीशको पोखरामा चल्तीको ओजन बुक्स स्टेनर्स सञ्चालनमा छ। काहिँला विमल काठमाडौँमा पाल्पा बुक्सका सञ्चालक हुन्।

पारिवारिक स्रोतका अनुसार बुटवल ज्योतिनगर निवासी स्वर्गीय कमल गौतमका श्रीमती र २ छोरा छन्। श्रीमती पनि शिक्षिका हुन्। जेठा छोरा नीरज बुटवल बहुमुखी क्याम्पसमा पढाउँछन्। कान्छा वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा छन्।

विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय रहँदै आएका कमल गौतम जिफन्टमा रहँदा सुदूरपश्चिमाञ्चलको इन्चार्जसमेत सम्हालेका थिए। उनी एमालेको केन्द्रीय सदस्यसम्म पुगेका थिए। विगतमा शिक्षण पेसाकै क्रममा उनले तत्कालीन दुर्गम कर्णाली अञ्चलमै पहिलोपल्ट शिक्षक संगठन विस्तार गरेका थिए। विभिन्न सामाजिक संघसंस्थामा आबद्ध गौतम मिलनसार, सहयोगी रहेको पाल्पा हाउसका अध्यक्ष कुलप्रसाद घिमिरे स्मरण गर्छन्।

नेपालको श्रमिक आन्दोलनमा लाग्दालाग्दै एकजना नेताले आफ्नो प्राण त्यागेका छन्।

एमाले नेता योगेश भट्टराईले पार्टी केन्द्रीय सदस्य तथा जिफन्टका केन्द्रीय उपाध्यक्ष गौतमको निधनप्रति आफू दुःखी भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘नेपालको श्रमिक आन्दोलनमा कमरेडको योगदानलाई सम्मान गर्दै दिवंगत कमरेड कमल गौतमप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

एमाले पाल्पाले एकजना होनहार नेता गुमाउनुपरेकोमा दु:ख व्यक्त गरेको छ। रिब्दीकोटवासीले पनि कमल गौतमप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन्।

उद्योगीका पक्षमा बोल्दाबोल्दै मञ्चमै अस्ताए जिफन्ट उपाध्यक्ष कमल गौतम

 

प्रकाशित: १३ कार्तिक २०८२ १७:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast