दर्जनौँलाई रोजगारी दिने किसान

हिमाल प्रेस १४ कार्तिक २०८२ ७:५१
14
SHARES
दर्जनौँलाई रोजगारी दिने किसान

कञ्चनपुर- विगतमा अरूको खेतमा मजदुरी गरेर गुजारा चलाउने बेदकोट नगरपालिका–१ चम्फापुरका जयप्रकाश राना अहिले आफ्नै बारीमा दर्जनौँ किसानलाई रोजगारी दिनसक्ने सफल व्यावसायिक किसान भएका छन्।

दुई दशकदेखि निरन्तर तरकारीखेतीमा संलग्न रानाले नर्सरीमा तरकारीका बिरुवासँगै तरकारी उत्पादन गरी बिक्री गरेर वार्षिक रूपमा रु १५ लाख बढी आम्दानी गर्दै आएका छन्। मेहनत, सीप र आत्मविश्वासको बलमा उनले आफ्नो जीवनमात्र होइन गाउँको कृषि अभ्यासलाई परिवर्तन गरेका छन्। उनको प्रेरणाले अन्य किसान पनि व्यावसायिक तरकारीखेतीमा संलग्न भएका छन्।

कडा परिश्रम, आत्मविश्वास र सीपको भरमा तरकारीखेतीलाई जीवनको प्रमुख व्यवसायमा रानाले रूपान्तरण गरेका छन्। उनका प्लाष्टिकको टनेलभित्रका हरिया बारी र उन्नत नर्सरीले स्थानीयलाई मात्र होइन, टाढा–टाढाका किसानलाई समेत प्रेरणा दिएको छ।

सूर्योदय हुनुअघि नै तरकारीको बिरुवा स्याहार्ने कार्यबाट उनको दिनको सुरुवात हुन्छ। राजमार्गसँगै जोडिएको उनको नर्सरीबाट बिरुवा खरिद गर्ने किसानको दिनहुँ भीड लाग्ने गर्दछ। उन्नत बीउका कारण टाढाका गाउँ र नगरका किसान उनकै बारीमा बिरुवा खरिद गर्न आउने गर्दछन्।

रानाले काउली, गोलभेँडा, ब्रोकाउली, रायो, भण्टा, सिमला मिर्चा, प्याजलगायतका बिरुवा बारीमा उत्पादन गरेका छन्। त्यही नर्सरीका बिरुवाबाट उनले आफ्नो खेतमा व्यावसायिक तरकारीखेती पनि गर्छन्। अतिरिक्त रूपमा धनियाँ, लौका, तीतेकरेला, फर्सी र काँक्रासमेत खेती गर्छन्।

२०५८ देखि निरन्तर कृषिमा संलग्न राना विगतमा अरूको खेतमा मजदुरी गरेर गुजारा चलाउँथे। ‘पहिले अरूको खेतमा बेर्ना तयार गर्न र रोप्न माटो तयार गर्थें, मल हाल्थे विषादी छर्किन्थें, बेर्ना हुर्काउँथें, बिरुवा स्याहार्ने कार्य गर्दथें’, रानाले भने,‘त्यही क्रममा खेतीका तौरतरिका सिकेंर आफूले पनि गर्ने हिम्मत गरें, व्यावसायिकखेती गर्ने निधो गरी लागें।’

एक बिघा र चार बिघा लिजमा लिएर तरकारीखेती हुने गरेको छ। नर्सरीबाट मात्र वार्षिक करिब रु पाँच लाख र तरकारीखेतीबाट करिब रु १० लाख आम्दानी हुने गर्दछ। ‘पहिले महिनामा तीन हजार जति पारिश्रमिक पाउथेँ, अहिले खेतीबाट लाखौँको कारोबार हुन्छ’, उनले हाँस्दै भने।

उन्नत बीउ, टनेलखेती र विद्युतीय सिँचाइ प्रणालीका कारण उनको तरकारीको उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा सहजै बिक्री हुन्छ।

तरकारीखेतीले उनको जीवनस्तरमा ठूला परिवर्तन ल्याएको छ। पहिले कच्ची टायलको घरमा बस्ने राना अहिले चारकोठे पक्की घरमा परिवारसहित बस्छन्। उनले तरकारीखेतीकै कमाइबाट दुईवटा मोटरसाइकल पनि खरिद गरेका छन्। रानाको नर्सरीका बिरुवा अहिले कञ्चनपुरको दैजी, सिसैया, महेन्द्रनगर र झलारीसम्मका किसानले बारीमै पुगेर खेतमा रोप्नका लागि लैजाने गरेका छन्।

भविष्यमा थप जग्गामा तरकारीखेती विस्तार गर्ने योजना बनाएका रानाले युवालाई कृषिप्रति आकर्षित हुन आग्रह गरेका छन्। ‘युवाले वैदेशिक रोजगारी होइन, कृषि रोजे देश आत्मनिर्भर बन्छ’, उनी भन्छन्,‘मजदुर भएर काम गरेँ, अब म आफैँ रोजगार दिने किसान बनेको छु।’

प्रकाशित: १४ कार्तिक २०८२ ७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast