सानीभेरीका ईसीडी शिक्षकले कपडाको गुडियादेखि रिङसम्म बनाए

हिमाल प्रेस ३१ असोज २०८२ ८:५० | Friday, October 17, 2025
34
SHARES
सानीभेरीका ईसीडी शिक्षकले कपडाको गुडियादेखि रिङसम्म बनाए

काठमाडौँ- रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा प्रारम्भिक बालविकास (ईसीडी) सहजकर्ताका लागि सञ्चालन गरिएको १० दिने पेसागत तालिम बिहीबार सम्पन्न भएको छ। तालिममा गाउँपालिकाका ५३ जना ईसीडी शिक्षक सहभागी भएका थिए।

गाउँपालिकाको पहलमा आयोजित उक्त तालिममा शिक्षकहरूले बालबालिकाको सिकाइलाई सहज र रमाइलो बनाउन आवश्यक शैक्षिक सामग्रीहरू आफ्नै हातले बनाउन सिके। ट्रेनर तथा ईसीडी शिक्षक निर्मला वलीका अनुसार सहभागीहरूले कपडाबाट गुडिया, ज्यामितीय आकार, बल, रिङ लगायतका शिक्षण सामग्री बनाउने सीप सिके।

वलीले भनिन्,‘तालिम एकदमै उपयोगी र सफल भयो। शैक्षिक सामग्री बनाउन आवश्यक सबै समान स्थानीय सरकारले उपलब्ध गराएको थियो। सहभागी शिक्षकहरूले उत्साहका साथ सिके र सिकेका कुरा बालविकास कक्षामा लागू गर्ने विश्वास दिलाएका छन्।’

तालिमको क्रममा दुई समूह ‘ए’ र ‘बी’मा विभाजन गरी सहभागी शिक्षकहरूले मनोरञ्जनात्मक अभ्यास, बालगीत र बालबालिकाको सर्वाङ्गीण विकासका सामग्रीहरू प्रस्तुत गरेका थिए। प्रशिक्षण अवधिभर शिक्षकहरूले समयपालन, अनुशासन र सक्रिय सहभागिताका लागि वलीले सराहना गरिन्।

उनले थप भनिन्,‘बालविकास कक्षामा बालबालिकाको सर्वाङ्गीण विकासको लागि चाहिने आवश्यक सामाग्री कपडाका पुतली गुडिया करल (पाटेबल) रिङ गोलो ठूलो बल ज्यामितिय आकारहरू बच्चाले ब्याम खेल्ने फित्ताहरू फाइबल झोलाका मालाहररू मौसम चार्ट बार चार्ट क, ख चित्र पोस्टर, ABCD, चित्र पोस्टर अ आ, का चित्र पोस्टर, गणित सम्बन्धि 12,34 चित्र पोस्टर १२३, चित्र पोस्टर र बालबालिकालाई सिकाउने बालगीत जस्तै प्राथर्ना गीत, खाजाको गीत, बिदाइ गीत, सरसफाइ सम्बन्धि गीतलगायतका अन्य बालगीत गीत र बालविकास कक्षाकोठा व्यवस्थापन कसरी गर्ने भन्ने बारे पनि सिकाइयो।’

तालिमको अन्तिम दिन गाउँपालिका अध्यक्ष, शिक्षा अधिकृत र अन्य स्थानीय सरोकारवाला व्यक्तिहरूले तालिम स्थलको अनुगमन पनि गरेका थिए। शिक्षा समितिका प्रतिनिधिहरूका अनुसार विद्यालयको गुणस्तर सुधार बालविकास तहबाटै सुरु हुने भएकाले पालिकाले लामो अवधिको तालिम आयोजना गरेको हो।

वलीले सानीभेरी गाउँपालिकाप्रति सहयोगका लागि धन्यवाद दिंदै भनिन्, ‘यसरी राम्रो अवसर प्रदान गरेकोमा गाउँपालिकालाई हार्दिक आभार व्यक्त गर्छु।’ बालविकास शिक्षकहरूले तालिमबाट प्राप्त ज्ञान र सीप बालबालिकाको व्यवहारिक सिकाइमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: ३१ असोज २०८२ ८:५० | Friday, October 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast