विपद् जोखिम प्राधिकरणले जनायो मौसम ‘अलर्ट’, कात्तिक १० र ११ यात्रा नगर्न अनुरोध

हिमाल प्रेस १० कार्तिक २०८२ ७:४८ | Monday, October 27, 2025
विपद् जोखिम प्राधिकरणले जनायो मौसम ‘अलर्ट’, कात्तिक १० र ११ यात्रा नगर्न अनुरोध

काठमाडौँ- सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानको बारेमा आवश्यक जानकारी लिन आग्रह गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पदयात्रामा जानुपूर्व पूर्वसूचना एवं ‘अलर्ट’बारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न आग्रह गरेको हो।

पदयात्राका लागि आवश्यक पूर्वतयारी गर्न एवं लेक लागिहालेमा यात्रा रोकी तलतिर झरेर उपचार प्रक्रियामा लाग्न एवं एक्लै यात्रामा ननिस्कनसमेत अनुरोध गरेको छ।

पछिल्ला दुई दिन अर्थात् यही कात्तिक ८ र ९ गते लेक लागेर मनाङ र कास्कीमा गरी चारजनाको मृत्यु भएको छ। एकजना स्पेनी नागरिकलाई उपचारका लागि काठमाडौं ल्याइएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमानअनुसार यही कात्तिक १० र ११ गते केही प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

बंगालको खाडी र अरब सागरमा बनेको दुई वटा न्यून चापीय प्रणालीले आगामी मंगलबारदेखि शुक्रबारसम्म नेपालमा वर्षा र हिमपात गराउने सम्भावना रहेको सन्दर्भमा जल तथा मौसम विज्ञान विभागबाट सोसम्बन्धी सुक्ष्म विश्लेषण भइरहेको प्राधिकरणले जनाएको छ। रासस

प्रकाशित: १० कार्तिक २०८२ ७:४८ | Monday, October 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast