देउवा ३५ दिनपछि सार्वजनिक, पार्टी बैठकमा सहभागी

हिमाल प्रेस २८ असोज २०८२ १४:१३ | Tuesday, October 14, 2025
देउवा ३५ दिनपछि सार्वजनिक, पार्टी बैठकमा सहभागी

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ३५ दिनपछि सार्वजनिक रूपमा देखा परेका छन्। उनी सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा देखिएका हुन्। कार्यालयका कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सभापति देउवा आन्दोलनकारीको आक्रमणमा परेका थिए। बूढानीलकण्ठस्थित उनको निवासमा आन्दोलनकारी प्रवेश गरेर तोडफोड, लुटपाट र आगजनी गरेका थिए। त्यस क्रममा उनको घरमा पूर्ण रूपमा क्षति भएको छ। प्रदर्शनकारीको आक्रमणबाट देउवा पत्नी एवम् कांग्रेस केन्द्रीय सदस्य तथा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि घाइते भएकी थिइन्।

छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उपचार गराएपछि देउवादम्पती डिस्चार्ज भएका थिए। देउवा निकट कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सभापति देउवा बैठक अवधिभर बैठकस्थलमा बस्न नसक्ने बताए। उनले अस्वस्थ रहेका कारण देउवाले आफ्नो सम्बोधन गरेर बाहिरिने बताए।

नेपाली कांग्रेस केन्द्रीय कार्यसममितिको बैठक सुरु भएको छ। केन्द्रीय समिति बैठकले केन्द्रीय समितिमा छलफल हुने एजेन्डा तय गरेको थियो।

केन्द्रीय समितिको बैठक सभापति शेरबहादुर देउवाकै अध्यक्षतामा बस्ने छ। केन्द्रीय समितिमा मुख्य गरी नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने भन्ने विषयमा छलफल हुने तयारी छ। यसका लागि सभापति देउवाले केही पदाधिकारीसँग बिहानै छलफल गका थिए। देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गरेका थिए।

छलफलमा महामन्त्री थापा र शर्माले सकेसम्म मंसिरभित्रै नियमित महाधिवेशन गर्न सभापतिसँग प्रस्ताव गरेका थिए। नियमित महाधिवेशन मंसिरभित्र हुन सकेन भने विशेष महाधिवेशनका लागि जानुपर्ने बाध्यता रहेको महामन्त्रीहरूले सभापतिलाई जानकारी गराएका छन्।

विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूले देशभरबाट हस्ताक्षर संकलन गरेर केन्द्रीय कार्यालयमा ल्याइसकेका छन्। विशेष महाधिवेशन माग गर्दै २४३९ प्रतिनिधिको हस्ताक्षर संकलन भइसकेको केन्द्रीय सदस्य मधु आचार्यले बताएका छन्।

प्रकाशित: २८ असोज २०८२ १४:१३ | Tuesday, October 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast