आगामी निर्वाचनलाई महत्त्वपूर्ण अवसरका रूपमा उपयोग गर्न उपसभामुख रानाको आग्रह

हिमाल प्रेस १० कार्तिक २०८२ ७:०५ | Monday, October 27, 2025
आगामी निर्वाचनलाई महत्त्वपूर्ण अवसरका रूपमा उपयोग गर्न उपसभामुख रानाको आग्रह इन्दिरा रानामगर। फाइल तस्बिर।

काठमाडौँ- उपसभामुख इन्दिरा रानाले आगामी फागुन २१ गते हुने निर्वाचन मार्फत देशलाई लोकतान्त्रिक मूल्य र जनमतका माध्यमबाट अझै सशक्त बनाउने महत्त्वपूर्ण अवसरका रूपमा उपयोग गर्न आग्रह गरेकी छन्। उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्व–२०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले सो आग्रह गरेकी हुन्।

उनले भनिन्, ‘छठ पर्वको अवसरमा हामी सबैले एक–अर्काप्रति हार्दिकता, आदर र सहकार्यको भावना बढाउँदै लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकताको संरक्षण गर्ने संकल्प लिनुपर्छ।’

नेपाल विविध भाषा, संस्कृति र धर्मसँगै बसोबास गर्ने समुदायको साझा घर भएको उल्लेख गर्दै उनले हरेक समुदायले आफ्नो आस्थाअनुसार चाडपर्वहरू मनाउनु र अन्य समुदायका पर्वहरूमा हार्दिकतापूर्वक सहभागी हुनु हाम्रो एकताको सुन्दर परिचय भएको बताइन्।

नेपालको संविधानले यस्तै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र क्षेत्रीय विविधतालाई आत्मसात् गर्दै सबै नागरिकबिच सम्मान र एकताको भावना स्थापनाको आधार तयार गरेको उपसभामुख रानाको भनाइ छ।

पारिवारिक सुख, शान्ति र कल्याणको कामना गर्दै सूर्य देवताको आराधना गर्ने यो पर्व अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर प्रकृति, जीवन र श्रमप्रति आस्था प्रकट गर्ने हाम्रो मौलिक सांस्कृतिक परम्पराको प्रतीक हो । छठ पर्वले हाम्रो व्यक्तिगत र सामाजिक जीवनमा प्रकाश, आशा र सकारात्मक ऊर्जा भर्ने पर्व हो।

सन्देशमा भनिएको छ, ‘छठ पर्वले हामी सबैमा एकता, आपसी सद्भाव, सहकार्य र देशप्रतिको निष्ठाको भावना जगाओस्, राजनीतिक स्थिरता, विश्वसनीयता र सुशासन स्थापना गर्दै समुन्नत नेपाल निर्माण गर्ने मार्गमा हामी सबैलाई प्रेरणा मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।

प्रकाशित: १० कार्तिक २०८२ ७:०५ | Monday, October 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast