[टिप्पणी] प्रमाणित भएको बाबुरामको दृष्टि

प्रकाश भट्टराई २७ असोज २०८२ १५:४९ | Monday, October 13, 2025
82
SHARES
[टिप्पणी] प्रमाणित भएको बाबुरामको दृष्टि

करिब एक दशकअघि जब डा.बाबुराम भट्टराईले माओवादी आन्दोलनको सीमित परिधिबाट बाहिर निस्कँदै नयाँ शक्तिको आवश्यकता औंल्याए त्यो क्षणलाई धेरैले राजनीतिक विचलनको उपजका रूपमा लिए। त्यसबेला उनको त्यो कदम धेरैका लागि जोखिमपूर्ण प्रयोगमात्र लाग्यो। तर आज त्यो विचलन होइन, यथार्थ चेतना थियो भन्ने समयले पुष्टि गरेको छ।

भट्टराईले त्यतिबेलै भन्नुभएको थियो- पुरानो सोच र पुराना दलहरूले अब राष्ट्रलाई नेतृत्व दिन सक्दैनन्। ‘अबको समय विकास र सुशासन हो’ भन्ने उहाँको उद्घोषलाई त्यतिबेला धेरैले अव्यावहारिक ठाने। आजको नेपाली राजनीति र शासन व्यवस्थाको अस्तव्यस्तताले त्यस वाक्यलाई साँचो ठहर्‍याएको छ।

नेपालको राजनीतिक नेतृत्वले दशकौँदेखि सत्ताको जोडघटाउलाई प्राथमिकता दियो। विचार, सिद्धान्त र नीतिगत बहस ओझेल परे। भट्टराईले यसैप्रति असन्तुष्टि जनाउँदै वैचारिक शुद्धीकरण, पुस्तान्तरण र पारदर्शीताको कार्यसूची अघि सारे। उहाँको त्यो दृष्टिकोण केवल वैकल्पिक पार्टी निर्माण होइन, सोचको पुनर्जागरण थियो। राजनीति पद होइन, पद्धतिमा आधारित हुनुपर्छ भन्ने थियो।

तर त्यतिबेला परम्परावादी राजनीतिक वृत्तले उहाँको अन्तर्राष्ट्रिय दृष्टिकोण र लगानीमैत्री सोचलाई ‘भारतीय दलाली’ भनेर बदनाम गर्न खोज्यो। आलोचकहरूलाई लाग्यो उहाँ व्यवहारिक नभई आदर्शवादी हुन्। तर आजको आर्थिक स्थिरता, लगानी संकट र विदेश नीति सम्बन्धीको अस्थिरताले देखाइरहेको छ भट्टराईले खोजेको सन्तुलन नै अहिलेको अभाव हो।

प्रधानमन्त्री हुँदा उहाँले अपनाउनुभएको जीवनशैली आफैँमा राजनीतिक सन्देश थियो। विदेशी विलासी गाडी चढ्न अस्वीकार गरेर मुस्ताङ म्याक्स रोज्नु, नेपाली उत्पादनप्रतिको समर्थन मात्र होइन देशभक्तिपूर्ण व्यवहारिक सोचको प्रतीक थियो। गोरखा जस्तो बलियो निर्वाचन क्षेत्र त्यागेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन प्रचण्डलाई समर्थन गर्नु पनि सत्ता होइन राष्ट्रिय स्थायित्वमा केन्द्रित निर्णय थियो।

आज जेनजीका युवा सडकमा निस्कँदै पुरानो राजनीतिक नेतृत्वको असफलता र अवसरवादिताविरुद्ध आवाज उठाइरहेका छन्। देशले डा.बाबुराम भट्टराईले दशकअघि गर्नुभएको भविष्यवाणी सम्झिएको छ। अहिलेको परिस्थितिमा उहाँले पहिल्यै चेतावनी दिनुभएको थियो।

यसबीच, ठूला दलका नेताहरू मौन रहँदै सत्ताको समीकरण मिलाउन व्यस्त छन्। तर भट्टराईले नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति) को अध्यक्ष पद त्याग्दै फेरि वैचारिक अभियानमा केन्द्रित रहने निर्णय गर्नुभयो। त्यससँगै उहाँले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सम्भावित अन्तरिम सरकारको पहललाई समर्थन गर्दै राष्ट्रलाई विधिसम्मत निकास दिनु पर्ने धारणा सार्वजनिक गर्नुभयो।

भट्टराईको यो कदमले उनी राजनीति सत्ताको मोहमा होइन विचार र विधिमा आधारित छन्। जब धेरैजसो नेताहरू पदका लागि अडिएका छन् उहाँले पद त्यागेर पनि मार्गदर्शक भूमिकामा रहन रोज्नुभएको छ। यही नै उहाँको राजनीतिक परिपक्वता र वैचारिक निरन्तरताको परिचायक हो।

प्रकाशित: २७ असोज २०८२ १५:४९ | Monday, October 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast