बंगलादेश : चुनाव बहिष्कार गर्ने हसिनाको चेतावनी

हिमाल प्रेस १३ कार्तिक २०८२ १५:५६
16
SHARES
बंगलादेश : चुनाव बहिष्कार गर्ने हसिनाको चेतावनी सेख हसिना।

काठमाडौँ- बंगलादेशकी पूर्वप्रधानमन्त्री सेख हसीनाले आफ्नो पार्टी बंगलादेश अवामी लिगले आगामी वर्ष हुन लागेको आमनिर्वाचन बहिष्कार गर्ने बताएकी छन्। सन् २०२४ अगस्टमा सत्ताच्यूत भएपछि हसिना भागेर भारत पुगेकी थिइन्। निर्वासनमा रहेका बेला सञ्चारमाध्यमलाई पहिलो पटक अन्तर्वार्ता दिँदै उनले उक्त कुरा बताएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

हसिनाले आफू तत्काल बंगलादेश नफर्किने बताइन्। समाचार एजेन्सी रोयटर्सलाई दिएको अन्तर्वार्तामा उनले भनेकी छन्, ‘अहिलको सरकार सत्तामा रहेसम्म म बंगलादेश फर्किने छैन। किनभने मेरो पार्टीलाई निर्वाचनबाट बाहिर राखिएको छ।’

यसै वर्ष मे महिनामा बंगलादेशको निर्वाचन आयोगले अवामी लिगको दर्ता निलम्बन गरेको थियो। यस कारण पार्टीले अर्को निर्वाचनमा भाग लिन सक्ने छैन। अवामी लिग देशको सुरक्षा लागि खतरा रहेको आरोप अन्तरिम सरकारको छ। अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसले अवामी लिगका सबै गतिविधिहरूमा प्रतिबन्ध लगाएका छन्।

रोयटर्सलाई इमेलमार्फत पठाएको जवाफमा हसिनाले लेखिकी छन्, ‘अवामी लिगमाथि लगाइएको प्रतिबन्ध अन्यायपूर्ण मात्रै छैन निरर्थक पनि छ। करोडौँ मानिस अवामी लिगलाई समर्थन गर्छन्। अहिलेको स्थितिमा उनीहरूले मतदान गर्ने छैनन्।’

हसिनाको अवामी लिग र खालिदा जियाको बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) देशका दुई सबैभन्दा प्रमुख पार्टीहरू हुन्। बंगलादेशको राजनीतिमा यी दुई दलको दबदबा रहँदै आएको छ। कहिले एक, कहिले अर्को पार्टी सत्तामा पुग्छन्। अहिले अवामी लिग बाहिर रहेकाले बीएनपीले निर्वाचन जित्ने सम्भावना बलियो देखिएको विश्लेषकहरूको बुझाइ छ। यद्यपि देशको प्रमुख इस्लामवादी पार्टी ‘जमात-ए-इस्लामी’ को लोकप्रियता बढिरहेको छ।

हसिनाले उनको पार्टीलाई निर्वाचनमा भाग लिन दिइने आशा राखेकी छन्। उनले भनिन्, ‘अवामी लिगका समर्थकहरूलाई अरू पार्टीलाई समर्थन गर्न भन्नु छैन। सरकारले बुझेर निर्वाचनमा भाग लिन अनुमति दिनेमा हामी आशावादी छौँ।’

हसिना वा उनको पार्टी बंगलादेश सरकारसँग पर्दापछाडिको छलफलमा छन् कि छैनन् भन्ने विषयमा उनले कुनै टिप्पणी गरेकी छैनन्। युद्ध अपराधको सुनुवाइका लागि गठित क्राइम्स ट्रिब्युनलमा उनमाथि चलिरहेको मुद्दा पूरा भइसकेको छ। १३ नोभेम्बरमा फैसला सुनाइनेछ। हसिना आफूमाथि लगाइएका आरोप अस्वीकार गर्छिन्। उनले भनिन्, ‘यो कारबाही राजनीतिक उद्देश्यले प्रेरित छ।’ हसिनाका अनुसार उनलाई आफ्नो बचावको अवसरसमेत दिइएको छैन।

रोयटर्सबाहेक हसिनाले समाचार एजेन्सी एएफपीलाई पनि लिखित अन्तर्वार्ता दिइन्। उनले अवामी लिगबिना निर्वाचन सञ्चालन गर्नु देशमा अझ बढी विभाजनको बिउ रोप्नु रहेको बताइन्। निर्वाचन प्रक्रियामा प्रश्न उठाउँदै पूर्वप्रधानमन्त्री हसीनाले भनिन्, ‘अवामी लिगसहित सबै प्रमुख दलहरूको प्रत्यक्ष सहभागिताबिना भएको निर्वाचन विश्वसनीय हुन सक्दैन।’

स्वतन्त्र र निष्पक्ष निर्वाचनमा वास्तविक प्रतिस्पर्धा आवश्यक रहेको उनको भनाइ छ। उनले भनिन्, ‘सबै दलहरू निर्वाचन अभियानमा भाग लिन सक्षम हुनुपर्छ। मतदाताले विकल्पहरूबीच मतदान गर्न सकून्।’ हसिनाले पार्टीलाई प्रतिबन्ध लगाएर युनुस सरकारले राजनीतिक संकट अझ गहिरो बनाइरहेको आरोप हसिनाको छ।

आफूमाथि चलिरहेको ‘मानवताविरुद्धको अपराध’ सम्बन्धी मुद्दालाई उनले ‘कानुनी मजाक’ भनेकी छन्।

अभियोग पक्षको दाबीअनुसार मुद्दा निष्पक्ष तरिकाले चलेको छ। उनीहरूले केही अडियो टेपहरू पनि पेस गरेका छन्। प्रहरी अनुसन्धानले त्यसको वैधता पुष्टि गरेको छ। ती टेपहरूका अनुसार हसिनाले सुरक्षा बलहरूलाई घातक हतियार प्रयोग गर्न प्रत्यक्ष आदेश दिएकी थिइन् ।

हसिनाले भने अडियो रेकर्डिङलाई गलत सन्दर्भमा प्रस्तुत गरिएको दाबी गरिन्। उनले भनिन्, ‘मैले व्यक्तिगत रूपमा सुरक्षा बलहरूलाई भीडमा फायरिङको आदेश दिएको भन्ने आरोपमा कुनै सत्यता छैन। राजनीतिमा फेरि फर्कने योजना सम्बन्धमा हसिनाको जवाफ थियो, ‘बंगलादेशको कल्याण र स्थिरता मेरो प्राथमिकता हो।’

प्रकाशित: १३ कार्तिक २०८२ १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast