विवादपछि बोले अमनप्रताप अधिकारी, भने : अपशब्द बोलेकोमा पछुतो छैन

हिमाल प्रेस १० कार्तिक २०८२ ८:३९ | Monday, October 27, 2025
विवादपछि बोले अमनप्रताप अधिकारी, भने : अपशब्द बोलेकोमा पछुतो छैन

काठमाडौँ- जेनजी आन्दोलनका बेला देशमाथि अपशब्द बोलेको भन्दै अमनप्रताप अधिकारीको चर्को आलोचना भइरहेको छ। गत भदौ २३ मा संसद् भवनभित्र पसेर अपशब्द बोलेको कारण उनी सामाजिक सञ्जालमा बहसमा तानिएका छन्।

विवादमा तानिएपछि अमनको परिवारलाई समेत जोडेर प्रहार गरिँदैछ। साहित्यकार क्षेत्रप्रताप अधिकारीका छोरा अमनले यस्तो बोल्दा परिवारलाई बद्नामी गरेको भनिएको छ। यसै विषयमा अमनले आफ्नो भनाइ सार्वजनिक गरेका छन्।

भाद्र २४ गते ती विद्यार्थीहरूको झल्को मुटुमा बोकेर र आक्रोश लिएर फेरि संसद् भवन पुगेको अधिकारीको भनाइ छ। उनले आक्रोशको कारणबारे स्पष्ट पार्दै भनेका छन्, ‘त्यो आक्रोश किन थियो त? जो सरकार थियो नि, त्यो सरकारले संसद् भवन भित्रबाट गोली प्रहार गरेको थियो। र तपाईँ, मेरा छोराछोरी त्यहीँ ढलेर त्यहीँ सहिद भएका थिए।’

संसद् भवनभित्र प्रवेश गर्दा आफूमा पनि आक्रोश देखिएको र भित्र गएपछि मोबाइल निकालेर गोली प्रहारको आदेश दिने सरकार चलाइरहेका नेताहरूलाई ‘तेरो देश सकियो’ भनेर अपशब्द बोलेको उनले स्वीकार गरेका छन्।

उनले सो अपशब्द केपी ओली नेतृत्वको सरकार, संसद् तथा देउवाजी, प्रचण्डजी लगायत सम्पूर्ण संसद् विरुद्धको आक्रोश रहेको स्पष्ट पारेका छन्। उनले ती छोराछोरी आफ्ना आँखा अगाडि मरेको रिसरागको आक्रोश रहेको भन्दै सर्वसाधारणप्रति इंकित नभएको बताएका छन्।

आफ्नो भिडियोमा अपशब्द सुनेर असहज लागेकोमा उनले धेरैधेरै माफी मागेका छन्। तर, उनले जो विरुद्ध अपशब्द बोलेका हुन्, त्यसमा आफूलाई पछुतो नभएको बताएका छन्। ‘किनभने उहाँहरूकै आदेशमा तपाईँ हाम्रो छोराछोरी मारिएको हो। त्यो हत्यारा विरुद्ध चाहिँ मैले त्यो अपशब्द बोलेको हो,’ उनले भनेका छन्।

संसद् भवन, सिंहदरबार वा न्यायालय जलाएको भन्ने भ्रम रहेको भए एउटा प्रमाण निकाल्न उनले चुनौती दिएका छन् । उनले कसैको व्यक्तिगत घर या कोही कसैप्रति हातपात गरेको भए एउटा सानो सबुत भए पनि ल्याए आफू जेल जान तयार रहेको बताएका छन्।

उनले आफू अहिले पनि भ्रष्टाचार विरुद्धको लडाइँ बोकेर हिँडेको बताएका छन्। उनले वर्तमान सरकारलाई समेत हत्याराहरूलाई पक्राउ गर्ने काम चाँडै गर्न आग्रह गरेका छन्। उनले भनेका छन्, ‘अहिले हेर्नुस् त सामाजिक सञ्जालमा भाद्र २३ को कुरा सबै मेट्न लागिसक्यो। ती हत्याराहरू भाग्न लागिसके, छुट्न लागिसके । २४ मा बिल्डिङ बलेको कुरा ठूलो भइरहेको छ। एउटा ज्यान र एउटा बिल्डिङ कहिल्यै पनि बराबर हुँदैन । कृपया त्यो याद गर्नुस्।’

 

प्रकाशित: १० कार्तिक २०८२ ८:३९ | Monday, October 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast