संविधानको रक्षाका लागि समर्पित हुन तरुणहरूलाई कार्यवाहक सभापति खड्काको आग्रह

हिमाल प्रेस १० कार्तिक २०८२ १६:३१ | Monday, October 27, 2025
संविधानको रक्षाका लागि समर्पित हुन तरुणहरूलाई कार्यवाहक सभापति खड्काको आग्रह

पाटन (ललितपुर)- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तरुणहरूलाई जुझारु भएर मुलुक, जनता र संविधानको रक्षाका लागि समर्पित हुन आग्रह गरेका छन्।

नेपाल तरुण दलको ७३औँ स्थापना दिवसका अवसरमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज (सोमबार) आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा उनले नेपाल इतिहासकै प्रतिकूल अवस्थामा उभिएको र कांग्रेस पार्टीसमेत प्रतिकूल अवस्थामा रहेको उल्लेख गर्दै देश जोगाउन संकल्पसहित अगाडि बढ्न आग्रह गरे।

‘शान्ति, सुशासन कायमका लागि जेन जेड युवाले गरेको शान्तिपूर्ण आन्दोलन घुसपैठ हुँदा मुलुकले ठूलो विपत्ति सामना गर्नुपर्‍यो, भदौ २४ गते देशको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामाथि आक्रमण गरेर ध्वस्त बनाइयो, जनतालाई अधिकार सम्पन्न बनाउन लागेका सन्तनेताको आश्रम खरानी बनाइयो, देशको सिंगै राज्यप्रणालीमाथि आक्रमण गरेर प्रतिकूल अवस्थामा पुर्‍याइयो,’ उनले भने।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको संरक्षण गरेको भन्दै कार्यवाहक सभापति खड्काले उनको प्रशंसा गरे। उनले प्रतिकूल अवस्थामा नेपाल तरुण दलको स्थापना दिवस मनाउँदै गरेको अवस्थामा धैर्य भएर एकताबद्ध हुँदै स‌ंगठित भएर सुशासन र समृद्धिको अभियानमा लाग्न आग्रह गरे।

कार्यवाहक सभापति खड्काले एकताको भावबाट चालु केन्द्रीय समितिको बैठकबाट पार्टीको नियमित अधिवेशन, देशको निर्वाचन, भ्रातृ संस्थाका निर्वाचनलगायतलाई सम्बोधन गर्नेगरी बृहत् एकताका माध्यमबाट प्रतिकूलतालाई चिर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले राष्ट्रिय एकता र संविधानको रक्षाका लागि मुलुकको सबै दल र पक्षहरूलाई एकताबद्ध गर्ने प्रस्ट मार्गदर्शनका साथ भरोसायोग्य कदम नेपाली कांग्रेसले चाल्ने विश्वास दिलाए।

नेपाली जनता र राष्ट्रले कांग्रेससँग धेरै आशा, अपेक्षा र भरोसा गरेको भन्दै जनतामा रहेको सार्वभौमसत्ताको रक्षाका लागि एकताबद्ध भएर लाग्न सभापति देउवाले जिम्मेवारी प्रदान गरेको भन्दै कार्यवाहक सभापति खड्काले संयमता र धैर्यताका साथ सबैलाई मिलाएर विगतका कमजोरीलाई केलाएर समीक्षा गर्दै बृहत् एकताद्वारा अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरे।

नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले २०१० कात्तिक १० गते गठन भएको तरुण दलले कांग्रेसको हितका साथै मुलुक र जनताको पक्षमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। तरुण दलले आफ्नो स्थापना दिवसका अवसरमा कांग्रेस केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरेको छ। रासस

प्रकाशित: १० कार्तिक २०८२ १६:३१ | Monday, October 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast