काठमाडौँ- नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा जेनजीसँग चुनावी सहकार्य गर्ने चाहेको बताएको छ । माओवादी सचिवालय सदस्य वर्षमान पुन ‘अनन्त’ ले बुधबार बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजीबिच भएको त्रिपक्षीय छलफलमा पार्टीको धारणा राख्दै यस्तो बताएका हुन्।
उनले भने, ‘हामीले सरकारमा वा प्रतिपक्षमा हुँदा सुशासन र भ्रष्टाचार नियन्त्रणमा काम गरेका वा आवाज उठाएका हौँ। त्यसैले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम राख्ने एजेण्डामा हामी र जेनजीबीच निकटता छ। यही कारण हाम्रो आन्दोलनमा र पछि पनि समर्थन रहेको हो। हामी जेनजीसँग चुनावी सहकार्यका लागि पनि तयार छौँ र निरन्तर संवाद जारी रहनेछ।’
उनले थपे, ‘हामी अहिले पनि हामी जेनजी युवाको मागमा समर्थन गर्न तयार छौँ।’
पुन अनन्तले २३ र २४ भदौपछिको राजनीतिक परिस्थितिको स्मरण गर्दै भने, ‘हामीले त्यतिबेला राजनीतिक र संवैधानिक प्रक्रिया सँगै अघि बढ्नुपर्छ भनेका थियौँ। सडकले नागरिक सरकार बनायो र त्यसलाई राजनीतिक दलको पनि समर्थन थियो। हामीले यो प्रक्रियालाई संसद्ले अनुमोदन गर्नुपर्छ भनेका थियौँ, तर त्यो भएन। अब मुलुकलाई सही संवैधानिक प्रक्रियामा लैजानु भनेकै निर्वाचन हो। सरकारले निर्वाचनको तयारी र विश्वसनीय वातावरण निर्माणमा लाग्नुपर्छ।’
पुन अनन्तले सरकारलाई आग्रह गर्दै भने, ‘जेनजी आन्दोलनका सम्भव मागलाई सरकारले तत्काल सम्बोधन गरोस्, हाम्रो समर्थन रहनेछ। हामी प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेण्डा लिएर चुनावमा जानेछौँ।’



