शिक्षामन्त्री महावीर पुन
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा.महावीर पुनले आफूलाई कुनै पनि औपचारिक कार्यक्रम उद्घाटन वा शिलान्यास समारोहमा निमन्त्रणा नगर्न आग्रह गरेका छन्।
केशरमहलस्थित शिक्षा मन्त्रालयमै बस्ने, खाने, सुत्ने र २४ सै घण्टा काम गर्ने घोषणा गरेका पुनले सामाजिक सञ्जालमार्फत भने,‘कृपया कसैले पनि र कहिँबाट पनि हालको म मन्त्रीलाई उद्घाटन र शिलान्यास कार्यक्रम, प्रमुख अतिथी हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रमहरूमा निमन्त्रणा गर्दै नगर्नु होला।’
उनले युनेस्को महासभाको उज्बेकिस्तानमा हुने साधारणसभा र ब्रिटिश काउन्सिलले नाइजेरियामा आयोजना गरेको सम्मेलनमा समेत आफू नजाने बताए। आफू बाहेकका मन्त्री पनि विदेशमा भएका यसअघिका कार्यक्रममा जानैपर्ने भएर गएको स्पष्ट पारे।
मन्त्री पुनले भनेका छन्, ‘जानै पर्ने र नगई नहुने मिटिङहरूमा मात्र केही मन्त्रीज्यूहरू विदेश जानु भएको हो। विदेश घुम्यो भनेर हल्ला नगर्नु होला।’ मन्त्री पुनले आफू पदको औपचारिकताभन्दा जिम्मेवारीमा केन्द्रित रहन चाहेको भन्दै कार्यसम्पादनमै जोड दिने बताए।



