पोखरा- जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरू तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न अभियोगमा १८ जना व्यक्तिहरू पक्राउ परेका छन्।
तीमध्ये १० जनालाई आपराधिक उपद्रवसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार पक्राउ पर्नेहरुमध्ये केहीको आपराधिक पृष्ठभूमि रहेको खुलेको छ।
सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले धादिङको त्रिपुरासुन्दरी-४ घर भई हाल पोखरा बस्ने २४ वर्षीय राजेश मक्रान्तिलाई जिल्ला प्रहरी कार्यालय तोडफोड तथा आगजनीमा संलग्न अभियोगमा पक्राउ गरिएको जानकारी दिए। डीएसपी बस्नेतका अनुसार मक्रान्तिविरुद्ध २०७९ सालमा पनि अभद्र व्यवहार मुद्दा चलेको थियो।
यस्तै जिल्ला प्रहरी कार्यालय तोडफोड र आगजनीमा संलग्न अभियोगमा पक्राउ पर्ने अर्का व्यक्ति हुन्, ५४ वर्षीय नारायण साई। पोखरा-४, अधिकारीमार्ग बस्ने उनी मासुको व्यापार गर्छन्। पोखरा फूलबारी बस्ने २२ वर्षीय अरुण विक पनि सोही अभियोगमा पक्राउ परेका छन्। उनी सवारीचालक पेसामा आबद्ध छन्।
२० वर्षअघि सवारीसाधन तोडफोड गरी क्षति पुर्याएको अभियोगमा मुद्दा चलेका पोखरा-१, कसेरीका ४१ वर्षीय रुपेश मगर पनि २४ भदौमा जिल्ला प्रहरी कार्यालय तोडफोड र आगजनीमा संलग्न रहेको खुलेको छ। पोखरा-१, मोहरिया टोल निवासी ४३ वर्षीय दीपु साई पनि प्रहरी कार्यालय तोडफोड, आगजनी एवं हतियार जलाएको अभियोगमा पक्राउ परेका छन्।
कास्कीको अन्नपूर्ण गाउँपालिकाका ४७ वर्षीय लङबहादुर नेपाली र सोही ठाउँका १९ वर्षीय अरविन विक, २२ वर्षीय ग्रिस क्षेत्री, ६२ वर्षीय थमबहादुर सार्कीलाई प्रहरी चौकी नयाँ पुल तोडफोड र आगजनी अभियोगमा पक्राउ परिएको छ।
प्रहरी चौकी नयाँ पुल तोडफोड र आगजनीमा संलग्न अभियोगमा पक्राउ परेका अर्का व्यक्ति ४२ वर्षीय पूर्णबहादुर नेपालीको यसअघि पनि आपराधिक पृष्ठभूमि छ। अन्नपूर्ण गाउँपालिका निवासी नेपाली अभद्र व्यवहारसम्बन्धी मुद्दामा वडा प्रहरी कार्यालय बगरका हिरासतमा रहेकोमा जेनजी आन्दोलनमा २४ भदौमा हिरासतबाट फरार भई चौकी आक्रमण गर्न पुगेका थिए।
उता जिल्ला प्रहरी कार्यालयमा आई प्रहरी पोसाक दुरुपयोग गर्ने तथा हुलहुज्जत गर्ने ८ जना पक्राउ परेकामा उनीहरू हाल धरौटीमा छुटेका छन्। सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरअन्तर्गत अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनीहरुविरुद्ध अनुसन्धान गरिएको थियो।
जसमा पोखराको पृथ्वीचोक निवासी वर्ष २४ का अमृत घले, पोखरा मौजाका वर्ष ३९ का चन्द्रबहादुर गुरुङ, २२ वर्षीय सागर परियार, रुकुम घर भई हाल पोखरा-८ बस्ने वर्ष २४ का दीपेश शाही ठकुरी, गोरखा घर भई हाल पोखरा-१६ बस्ने वर्ष २४ का सुरेश गुरुङ र पोखराको पर्स्याङ निवासी वर्ष ४५ का राजेश शाही २ हजार धरौटीमा छुटेका छन्। यस्तै धादिङ घर भई हाल पोखराको पर्स्याङ बस्ने वर्ष २९ का सागर अधिकारी र धादिङ घर भई पर्स्याङ बस्ने २९ वर्षीय दीपेश शाह जनही ३–३ हजार धरौटीमा छुटेका छन्।
यसैबीच कास्की प्रहरीले गत महिनादेखि सुरु गरेको अपरेसन-३६५ अन्तर्गत १३३ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ। तीमध्ये २८ चालकलाई अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको छ।
मोटरसाइकलको स्वरुप परिवर्तन गराई ठूला आवाज निकाली ध्वनि प्रदूषण गर्ने तथा समाजमा आतंक फैलाउने गरेको जनगुनासो बढेपछि प्रहरीले वर्षैभरि सञ्चालन गर्ने गरी अपरेसन-३६५ सुरु गरेको हो।
जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा कारागार कार्यालय कास्की, बाल सुधार गृह तथा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट फरार कैदीबन्दी तथा थुनुवा पनि प्रहरीले पक्राउ गरेको छ।
कारागार कार्यालयका ७७३ जना कैदीबन्दीमध्ये हालसम्म ५२० जना पक्राउ परिसकेका छन्। यस्तै बालसुधार गृहमा रहेका १०६ जना फरारमध्ये ९१ जना पक्राउ परेका छन्।
यस्तै जिल्ला प्रहरी कार्यालयमा रहेको ६३ जना थुनुवामध्ये ५ जना, वडा प्रहरी कर्यालय बगरमा रहेका १२ जनामध्ये १ जना र वडा प्रहरी कार्यालय बैदाममा रहेका ३३ जना थुनुवामध्ये २६ जना पक्राउ परेका छन्। बाँकीको खोजतलास भइरहेको सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले पत्रकार सम्मेलनमा जानकारी दिए।



