तस्बिर स्रोत : पिक्सेल
काठमाडौँ- मलेसिया सरकारले वैदेशिक श्रमिक भित्र्याउन थप कडाइ गरेको छ। मलेसियाले श्रम आप्रवासन प्रणाली थप पारदर्शी र नैतिक बनाउने प्रयासका रूपमा नयाँ मापदण्ड ल्याइएको जनाएको छ।
मलेसियाको परराष्ट्र मन्त्रालयले क्वालालम्पुरस्थित नेपाल दूतावासलाई यस्तो मापदण्डसहितको राजनीतिक नोट पठाएको हो।
नयाँ मापदण्डअनुसार अब कामदारको छनोट मलेसियाको मानव संशाधन मन्त्रालयले सञ्चालन गर्ने उद्देश्यपूर्ण र योग्यतामा आधारित प्रणालीमार्फत हुनेछ। यसका लागि मन्त्रालयले १० बुँदै मापदण्ड तय गरेको छ। ती मापदण्ड पूरा गरेपछि मात्रै म्यानपावर व्यवसायीहरू योग्य ठहरिनेछन्।
यस्ता छन् १० बुँदे मापदण्ड
१. कम्तीमा ५ वर्षको सञ्चालन अनुमति : व्यवसायीले आफ्नो मुलुकका सम्बन्धित निकायबाट दर्ता र इजाजतपत्र प्राप्त गरेको हुनुपर्छ र कम्तीमा पाँच (५) वर्षदेखि निरन्तर सञ्चालनमा रहनुपर्छ।
२. पछिल्ला ३ वर्षमा कम्तीमा तीन हजार कामदार व्यवस्थापन गरेको अनुभव : व्यवसायीले विगत पाँच वर्षभित्रमा कम्तीमा तीन हजार वैदेशिक कामदार व्यवस्थापन गरेको प्रमाणित अभिलेख पेस गर्नुपर्नेछ।
३. कम्तीमा ३ गन्तव्य देशमा कामदार पठाउने अनुभव : व्यवसायीले विगत पाँच वर्षभित्र कम्तीमा तीन (३) भिन्नभिन्न गन्तव्य देशमा कामदार पठाएको अनुभव वा अभिलेख हुनुपर्छ।
४. सम्बन्धित नियामक निकायबाट प्राप्त सबै वैध इजाजतपत्र : व्यवसायीले तालिम, मूल्यांकन, भर्ती र श्रमिक पठाउने सबै प्रकृतिका कार्यका लागि सम्बन्धित निकायबाट वैध अनुमतिपत्र प्राप्त गरेको हुनुपर्छ।
५. सदाचार प्रमाणपत्र : म्यानपावर कम्पनी सञ्चालकले सम्बन्धित मुलुकको निकायबाट ‘सदाचार प्रमाणपत्र’ पाएको हुनुपर्छ।
६. नैतिक र कानूनी रूपमा शुद्ध एजेन्सी : व्यवसायीले कुनै पनि जबर्जस्ती श्रम, मानव तस्करी, श्रम ऐन उल्लंकन, ठगी, अवैध रकम कारोबार वा अन्य आपराधिक गतिविधिमा संलग्न नभएको प्रमाणित हुनुपर्छ।
७. आफ्नै स्वामित्वमा सञ्चालित तालिम र मूल्याङ्कन केन्द्र : व्यवसायीको आफ्नै तालिम तथा मूल्यांकन केन्द्र हुनुपर्छ, जसमा आवास, प्राविधिक तालिम र अभिमुखीकरणको पूर्ण सुविधा उपलब्ध हुनुपर्छ।
८. पाँच अन्तर्राष्ट्रिय कम्पनीको सकारात्मक प्रमाणपत्र : व्यवसायीले वैदेशिक कम्पनीहरूबाट कम्तीमा पाँच (५) वटा लिखित सिफारिसपत्र वा प्रशंसापत्र पेस गर्नुपर्नेछ।
९. कम्तीमा तीन वर्षदेखि स्थायी कार्यालय सञ्चालन र १० हजार वर्गफिट क्षेत्रफल : व्यवसायीको स्थायी कार्यालय कम्तीमा तीन वर्षदेखि सञ्चालनमा रहनुका साथै कम्तीमा १० हजार वर्गफिट क्षेत्रफलमा आवश्यक सुविधा र पूर्वाधार हुनुपर्छ।
१०. विगतका भर्ती प्रक्रियामा पालना गरिएको प्रमाण : व्यवसायीले सम्बन्धित मुलुकहरू (मलेसिया सहित) का श्रमिक भर्ती प्रक्रिया कानुनी र प्रणालीबद्ध रूपमा पूरा गरेको प्रमाणपत्र वा अभिलेख पेस गर्नुपर्नेछ।
मलेसियाले नेपाल सरकारलाई ती मापदण्ड पूरा गर्ने एजेन्सीहरूको सूची नोभेम्बर १५ भित्र पठाउन अनुरोध गरेको छ। मलेसियाली अधिकारीहरूले भनेका छन्, ‘यी मापदण्डहरूबाट अनुभवी, उत्तरदायी र नियमअनुसार सञ्चालन हुने कम्पनीहरूलाई मात्र वैदेशिक कामदार भर्तीमा संलग्न गराउने उद्देश्य रहेको छ।’
नेपालका वैदेशिक रोजगार एजेन्सीहरूको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको परराष्ट्र मन्त्रालयबाट आएको उक्त पत्रलाई अस्वीकार गरेको छ। संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी वैदेशिक रोजगारीमा कुनै पनि किसिमको एकाधिकार वा सिन्डिकेट स्वीकार्दैनौँ।’
संघले कुनै व्यक्ति वा समूहले सामान्य व्यवसायीहरूको जीविकामाथि सिन्डिकेट लागू गर्न खोजेमा सामाजिक तथा व्यावसायिक बहिष्कार गरिने चेतावनी दिएको छ।



