चाइना जर्नल

यस्तो छ जनताको जीवनस्तर उकास्ने चिनियाँ नीति

अजय अलौकिक ११ कार्तिक २०८२ १७:०१
6
SHARES
यस्तो छ जनताको जीवनस्तर उकास्ने चिनियाँ नीति चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको चौथो पूर्ण बैठक। तस्बिर : सिन्हवा/रासस

चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको चौथो पूर्ण बैठक बेइजिङमा सम्पन्न भएको छ। अक्टोबर २० तारिखदेखि २३ तारिखसम्म आयोजित चारदिने सत्रमा कम्युनिस्ट पार्टीले पन्ध्रौँ पञ्चवर्षीय योजना (२०२६-२०३०) मार्फत चीनको आगामी पाँच वर्षको विकास खाका निर्धारणमा ध्यान केन्द्रित गरेको छ।

आर्थिक तथा सामाजिक विकासका लागि १५औँ पञ्चवर्षीय योजना बनाउने सन्दर्भमा प्रस्तावहरूको समीक्षा गरिएको छ जसले अन्तर्राष्ट्रिय जगतको समेत व्यापक ध्यान आकर्षित गरेको छ।

यो कार्ययोजनाले चिनियाँ कम्युनिस्ट पार्टीको ऐतिहासिक पहल र चिनियाँ आधुनिकीकरणलाई अघि बढाउने दृढ संकल्प प्रतिबिम्बित गर्दछ, जुन आर्थिक पुनरुत्थान, नवप्रवर्तन, हरित रूपान्तरण र विश्वव्यापी सुशासनका लागि विश्वको अपेक्षा अनुकूल छ।

भूराजनीतिक तनाव, सुस्त विकास गति, जटिल अन्तर्राष्ट्रिय वातावरणमा यो पूर्ण बैठकले चीनको विकासका लागि मात्र दिशा तय गरेको छैन, विश्वलाई समेत स्थिरता र स्थायित्वको भरोसा दिलाएको छ।

आगामी मार्च महिनामा आयोजना हुने चीनका दुई अधिवेशन अवधिमा सम्भवतः पन्ध्रौँ पञ्चवर्षीय योजना औपचारिक रूपमा लागू हुने छ। यो पञ्चवर्षीय योजना चीनले तयार पार्ने आगामी पाँच वर्षको सामाजिक र आर्थिक विकासको मार्गनिर्देशन हो।

यसले मुख्यतः राष्ट्रिय रणनीतिक उद्देश्यलाई स्पष्ट पार्छ, सरकारी कार्यको प्राथमिकतामाथि प्रकाश पार्छ र व्यावसायिक निकायहरूलाई मार्गनिर्देशन र व्यवस्थित गर्दछ। यसले राष्ट्रिय योजना प्रणालीमा एक प्रमुख स्थान ओगटेको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको मूल उद्देश्य ‘जनताको सेवामा पूर्ण रूपले समर्पित हुनु’ भएकाले यो योजनाको तयारी प्रक्रियामा सधैँ शीर्ष स्तरीय ढाँचा र जनतासँग सरसल्लाह दुवैलाई एकीकृत गरिन्छ। विशेषज्ञहरूको अनुसन्धान, जनसुझावको संग्रह र बहुस्तरीय परामर्शमार्फत योजनालाई वैज्ञानिक, लोकप्रिय र व्यावहारिक बनाइन्छ।

चीन स्थापना भएयता हालसम्म १४ वटा पञ्चवर्षीय योजनाहरूको कार्यान्वयनमार्फत दुई ‘अद्भुत उपलब्धिहरू’, आर्थिक विकासमा उच्च गति र दीर्घकालीन सामाजिक स्थिरता सिर्जना गरेको छ। चीनको पञ्चवर्षीय योजना सामाजिक र आर्थिक विकास पहलहरूको शृंखला हुन् जसले दशकौँदेखि राष्ट्रको प्रगतिको मार्गनिर्देशन गरेका छन्।

बैठकमा महासचिव सी चिनफिङको उपस्थितिमा कार्य प्रतिवेदनको सुनुवाइ र त्यसमाथिको छलफलपछि केन्द्रीय समितिले आर्थिक र सामाजिक विकासको १५औँ पञ्चवर्षीय योजनाको तर्जुमा गर्ने प्रस्तावको लेखाजोखा गरेपछि त्यसलाई पारित गरेको छ। अक्टोबर २३ तारिख बैठक सम्पन्न भएसँगै विज्ञप्ति पनि जारी गरिएको छ।

पूर्ण बैठकले १४औँ पञ्चवर्षीय योजना अवधिमा चीनको विकासमा प्राप्त ठूल्ठूला उपलब्धिको उच्च मूल्यांकन गर्नुका साथै १५औँ पञ्चवर्षीय योजना अवधिमा आर्थिक र समाजिक विकासका मुख्य लक्ष्यहरू प्रस्तुत गरेको छ।

अबको १५औँ पञ्चवर्षीय योजनाको मुख्य लक्ष्यहरू यस प्रकार छन् : उच्च गुणस्तरीय विकासमा उल्लेखनीय प्रतिफल प्राप्त गर्ने। समाजको सभ्यता स्तर स्पष्टसँग उठाउँदै लाने। जनताको जीवनस्तरलाई निरन्तर रूपमा उकास्दै लाने। सुमधुर चीनको निर्माणमा नयाँ प्रगति प्राप्त गर्ने। देशको सुरक्षापेटीलाई थप सुदृढ पार्ने।

यसबाहेक लगातार पाँच वर्षसम्म प्रयास गर्दै सन् २०३५ सम्म चीनको आर्थिक शक्ति, विज्ञान तथा प्रविधि शक्ति, राष्ट्रिय प्रतिरक्षात्मक शक्ति, राष्ट्रिय मिलिजुली शक्ति र अन्तर्राष्ट्रिय प्रभावकारी शक्तिलाई ठूलो मात्रामा उकास्दै लानेछ। प्रतिव्यक्तिको जीडीपी मझौला विकसित मुलुकको स्तरमा पुर्याउनुका साथै जनताको जीवन अझै सुखी र सुमधुर बनाइने छ। मोटामोटी रूपमा समाजवादी आधुनिकीकरण पूरा गरिने छ।

यसर्थ, १५औँ पञ्चवर्षीय योजना चिनियाँ आधुनिकीकरण वरिपरि केन्द्रित हुनेछ, जसले व्यापक सुधार, उच्च गुणस्तरीय विकास र खुलापनमा जोड दिने छ। साथै, यसले आगामी पाँच वर्षका लागि चीनको रूपरेखा मात्र चित्रण गरेको छैन, आजको प्रमुख विश्वव्यापी चुनौतीहरूलाई पनि सम्बोधन गर्दछ। जब भूराजनीतिक तनाव, सुशासनको कमी, कमजोरी र सुस्त विकास एक साथ हुन्छन्, तब विशाल बजार, पूर्ण औद्योगिक प्रणाली र दिगो सुधार क्षमता भएको चीनले विश्व अर्थव्यवस्थालाई दीर्घकालीन गतिशीलता प्रदान गर्न, विश्व शान्ति र विकासमा स्थिरता ल्याउन र विश्व सुशासन तथा मानव सभ्यताको प्रगतिमा योगदान पुर्याइरहने छ। १५औँ पञ्चवर्षीय योजना पनि चीनको विकासको साथमा विश्वको विकासमा केन्द्रित छ।

यसैबीच, अक्टुबर २४ तारिख चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिले २०औँ चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको चौथो पूर्ण सत्रको भावनाको परिचय र व्याख्याका लागि पत्रकार सम्मेलनको आयोजना गरेको छ।

चीनको केन्द्रीय वित्तीय तथा आर्थिक मामिला आयोगका उपनिर्देशक एवम केन्द्रीय ग्रामीण कार्य नेतृत्व समूहका निर्देशक हान वनस्युले योजनाका प्रस्तावले १५ औँ पञ्चवर्षीय योजना अवधिमा आर्थिक र सामाजिक विकासका लागि मुख्य लक्ष्यहरू परिभाषित गर्ने र यसमा सात प्रमुख क्षेत्रहरू समावेश भएको बताए।

पहिलो, उच्च गुणस्तरीय विकासमा उल्लेखनीय परिणामहरू प्राप्त गर्ने; दोस्रो, वैज्ञानिक र प्राविधिक आत्मनिर्भरतामा उल्लेखनीय सुधार गर्ने; तेस्रो, व्यापक सुधारलाई अझ गहन बनाउन नयाँ सफलताहरू प्राप्त गर्ने; चौथो, सामाजिक सभ्यतामा उल्लेखनीय सुधार गर्ने; पाँचौँ, जनताको जीवनस्तरमा निरन्तर सुधार गर्ने; छैटौँ, सुन्दर चीन निर्माणमा महत्त्वपूर्ण नयाँ प्रगति गर्ने; र सातौँ, राष्ट्रिय सुरक्षालाई अझ सुदृढ पार्ने।

उनले कृषि तथा ग्रामीण क्षेत्रको आधुनिकीकरण चीनको आधुनिकीकरणको समग्र विकास र गुणस्तरका लागि महत्त्वपूर्ण रहेको पनि औँल्याए। उनका अनुसार, राष्ट्रिय आर्थिक तथा सामाजिक विकासका लागि १५औँ पञ्चवर्षीय योजना तर्जुमा गर्ने सम्बन्धी चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको प्रस्तावले सम्पूर्ण पार्टीका लागि ‘तीन ग्रामीण मुद्दाहरू’ लाई उच्च प्राथमिकताको रूपमा सम्बोधन गर्ने, एकीकृत सहरी तथा ग्रामीण विकासलाई प्रवर्द्धन गर्ने र बलियो कृषि राष्ट्रको विकासलाई तीव्र पार्ने कुरामा जोड दिन्छ।

चिनियाँ केन्द्रीय वित्तीय तथा आर्थिक मामिला आयोगका उपनिर्देशक वनस्युले आर्थिक निर्माणलाई पालना गर्ने केन्द्र, उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्ने विषय, सुधार र नवप्रवर्तनको आधारभूत शक्ति, जनताको राम्रो जीवनको आवश्यकतालाई परिपूर्ण गर्ने आधारभूत उद्देश्य र पार्टीको व्यापक र कडा शासनको आधारभूत ग्यारेन्टी यी पाँच पक्षको पालना गर्नुपर्ने पनि बताए।

केन्द्रीय नीति अनुसन्धान कार्यालयका निर्देशक च्याङ चिनछ्वानले जटिल र गम्भीर बाह्य वातावरणमा नयाँ परिवर्तनहरूलाई प्रभावकारी रूपमा प्रतिक्रिया दिन र कडा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको बीचमा रणनीतिक पहल प्राप्त गर्न तथा यस चरणमा चीनको विकासको आवश्यकता अनुरूप अनुकूलन गर्न र उच्च गुणस्तरको विकासलाई प्रवर्द्धन गर्न आवश्यक रहेकाले १५ औँ पञ्चवर्षीय योजना प्रस्ताव तयार गरिएको बताए।

चीनका वाणिज्यमन्त्री वाङ वनथाउले प्रस्तावले १५औँ पञ्चवर्षीय योजना अवधिमा स्वतन्त्र खुलापनलाई सक्रिय रूपमा विस्तार गर्ने योजनाहरूको रूपरेखा प्रस्तुत गरेको बताए। उनका अनुसार, चीनको खुलापन प्रयासहरूले चीनको आवश्यकतालाई विश्वको अपेक्षाहरूसँग सन्तुलनमा ल्याउने छन्। यसै गरी, चिनियाँ राष्ट्रिय विकास तथा सुधार आयोगका निर्देशक चङ सानच्येले नयाँ ऊर्जा, नयाँ सामग्री, नयाँ कुराहरूको नवप्रवर्तन र उदीयमान तथा भविष्यका उद्योगहरूलाई बढावा दिनु र बलियो बनाउनु भनी व्याख्या गरे।

प्रस्तावले भविष्यका उद्योगहरूको अग्रगामी ढाँचाका लागि आह्वान गर्ने तथा क्वान्टम प्रविधि, बायोम्यानुफ्याक्चरिङ र छैटौं पुस्ताको मोबाइल सञ्चारलाई नयाँ आर्थिक वृद्धि चालकको रूपमा प्रवर्द्धन गर्ने र यी उद्योगहरूले अर्को दशकमा चीनको उच्च प्रविधि क्षेत्रलाई आकार दिन तयार रहेको औँल्याए।

१५औँ पञ्चवर्षीय योजना अवधि उच्च गुणस्तरीय विकास, उच्च स्तरीय खुलापन, नयाँ प्रकारको उत्पादन शक्तिको विकास, नवप्रवर्तन, कृत्रिम बुद्धिमत्ता, स्वच्छ तथा नवीकरणीय ऊर्जा, हरित रूपान्तरणमा ध्यान केन्द्रित गरिनेछ। यी नयाँ गुणस्तरीय उत्पादन शक्तिहरूबाट अर्थतन्त्रलाई प्रेरित गर्ने र अघि बढाइनेछ।

यसका अतिरिक्त, द्वैध परिसंचरण (डुअल सर्कुलेसन) नीतिबाट घरेलु बजारलाई अर्थतन्त्रको मुख्य आधारका रूपमा बलियो बनाउने र अन्तर्राष्ट्रिय बजारसँग सम्पर्क कायम राख्नेछ। जसबाट विश्व, बीआरआई साझेदारहरू तथा विदेशी कम्पनीहरूका लागि अवसर सिर्जना हुने छ।

यसरी चीनले आफ्नो दिगो विकासको मात्र प्रवर्द्धन नभइ विश्वमा नै मैत्री वातावरण र बजारको निर्माण गर्ने छ। यद्यपि, १५औँ पञ्चवर्षीय योजना चीनको २०३५ सम्म समाजवादी आधुनिकीकरण प्राप्त गर्ने यात्रामा निर्णायक चरण पनि हुनेछ।

१४औँ पञ्चवर्षीय योजना अवधिलाई फर्केर हेर्दा चीनले जटिल बाह्य वातावरणको बीचमा बलियो विकास र लचिलोपन प्रदर्शन गरेको छ र उल्लेखनीय प्रगति गरेको छ। सिनह्वाको एक रिपोर्ट अनुसार, २०२१ देखि २०२४ सम्मचीनले औसत वार्षिक वृद्धिदर ५.५ प्रतिशत कायम राखेको छ।

१४ औँ पञ्चवर्षीय योजना अवधिमा चिनियाँ अर्थतन्त्रको अनुमानित वृद्धि ३५ खर्ब युआन (४.९३ ट्रिलियन डलर) नाघ्ने अनुमान गरिएको छ, जुन प्रमुख पश्चिमी अर्थतन्त्रको वार्षिक जीडीपीसँग तुलना गर्न सकिन्छ, र प्रति व्यक्तिको जीडीपी १३,४४५ डलर रहेको छ, जसले चीनलाई उच्च मध्यम-आय भएका देशहरूको शीर्ष तहमा राखेको छ।

साथै, सन् २०२० मा पूर्ण गरिबी निवारण गरेपछि १४औँ पञ्चवर्षीय योजनाले यी उपलब्धिलाई सुदृढ पार्न समेत ध्यान केन्द्रित गरेको छ। यसै गरी, चीन अमेरिका व्यापार घर्षण र कोभिड-१९ महामारीपछि प्राप्त भएको स्थिर गतिको चिनियाँ अर्थतन्त्रले वार्षिक रूपमा विश्व अर्थतन्त्र वृद्धिमा करिब ३० प्रतिशत योगदान पुर्याएको छ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रूपमा चीनको आर्थिक स्थिरता विश्व आर्थिक विकासमा राहतको रूपमा रहेको छ। यी पञ्चवर्षीय योजनाहरूबाट चीनले प्रारम्भिक औद्योगिकीकरणबाट प्रविधीय शक्तिमा र उच्च वृद्धिबाट उच्च गुणस्तरीय विकासमा रूपान्तरण मात्रै होइन, चीनले समग्र विश्वको विकास अवधारणा र दृष्टिकोणमा समेत नयाँ विकल्प प्रदान गरेको छ।

चिनियाँ अर्थतन्त्रको स्थिर विकासले विश्वव्यापी आर्थिक वृद्धिका लागि प्रोत्साहन प्रदान गरेको छ र चीनलाई विश्वव्यापी वृद्धिमा महत्त्वपूर्ण योगदानकर्ता बनाएको छ। यस्तो उपलब्धि चीनको विकास रणनीतिको कारणले नै हो। पञ्चवर्षीय योजना चीनको शासन प्रणालीको एक विशिष्ट विशेषता हो, जसले दीर्घकालीन लक्ष्यहरूलाई चरणबद्ध कार्यहरूसँग संयोजन गर्दछ र राष्ट्रिय विकासका लागि स्थिरता र उज्ज्वल भविष्य प्रदान गर्दछ।

अबको अवधि दीर्घकालीन आर्थिक योजना र नीतिगत दिशा तय गर्दै सुधार तथा आधारलाई सुदृढ पार्ने, उच्च गुणस्तरीय विकासमा बलियो प्रोत्साहन दिने र चिनियाँ आधुनिकीकरणको लक्ष्य पूरा गर्न यथासम्भवको प्रयास गर्ने महत्त्वपूर्ण चरण भएको दर्शाउँछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast