काठमाडौँ- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले गरेको शुल्कवृद्धि र रामपुर कृषि क्याम्पसमा रोकिएको भर्ना प्रक्रियाप्रति आपत्ति जनाएको छ। संगठनले मंगलबार डीन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै मनोमानी ढंगले गरिएको शुल्कवृद्धि तत्काल खारेज गर्न र भर्ना प्रक्रिया पुनः सुरु गर्न माग गरेको हो।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले २०८२ को प्रवेश वर्षका लागि BSc. Agriculture (IDF र Annex) र BVSc&AH कार्यक्रमका शुल्कमा १६ देखि ५० प्रतिशतसम्म वृद्धि गरेको छ। विद्यार्थी संगठनले यस्तो निर्णय शिक्षा अधिकारको विरुद्ध र गैरजिम्मेवार कदम भएको जनाएको छ।
अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाले हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, ‘शिक्षा अधिकार हो, व्यापार होइन भन्ने सिद्धान्तलाई पाखा लगाउँदै गरिएको शुल्कवृद्धि अन्यायपूर्ण छ। शिक्षण सिकाइ प्रणाली, प्रयोगशाला सुविधा, अनुसन्धान सहयोग र प्राविधिक स्रोतमा सुधार नभएको अवस्थामा शुल्कवृद्धि विद्यार्थीमाथिको अन्याय हो।’
संगठनले रामपुर कृषि क्याम्पसमा पूर्वाधार अभावको कारण भन्दै रोकिएको नयाँ विद्यार्थी भर्ना प्रक्रिया पनि तत्काल सञ्चालन गर्न माग गरेको छ। ‘विश्वविद्यालयको उदासीनताका कारण आम नेपाली विद्यार्थी कृषि तथा पशु विज्ञान शिक्षा लिनबाट वञ्चित हुने अवस्था सिर्जना भएको छ,’ ज्ञापनपत्रमा उल्लेख छ।
संगठनले माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएको छ। ‘विद्यार्थीको अधिकार र न्यायका लागि हामी आन्दोलनमा उत्रिन बाध्य हुनेछौं। यसबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवारी विश्वविद्यालय प्रशासनकै हुनेछ,’ संगठको भनाइ छ।



