हिमपातका कारण जोखिम बढेपछि कास्की प्रशासनको सतर्कता अपनाउन आग्रह

हिमाल प्रेस ११ कार्तिक २०८२ १३:०३
12
SHARES
हिमपातका कारण जोखिम बढेपछि कास्की प्रशासनको सतर्कता अपनाउन आग्रह

पोखरा- जल तथा मौसम विज्ञान विभागबाट पछिल्लो समय गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा भारी हिमपातको प्रक्षेपणपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पदयात्रामा जानेहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ। मंगलबार एक सूचना जारी गर्दै प्रशासनले सो आग्रह गरेको हो ।

पछिल्लो समय पदयात्राका लागि गएका पर्यटकहरुमा लेक लाग्ने समस्याका कारण मृत्यु भएको एवं आपतकालीन उद्धार गर्नुपरेका घटना वृद्धि भएको उल्लेख गर्दै मौसम पूर्वानुमानका आधारमा उत्पन्न हुन सक्ने जोखिम र लेक लाग्न सक्ने समस्या समेतलाई मध्यनजर गरी सतर्कता अपनाउन आग्रह गरिएको हो।

जसअनुसार पदयात्रा गर्नुपर्दा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनाहरुलाई पालना गरी यात्रा गर्न, उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना भएकोले जिउज्यानको सुरक्षालाई दृष्टिगत गरी अन्नपूर्ण वेश क्याम्प, मर्चि हिमाल, खुमै डाँडा, कोरी लगायतका स्थानमा मौसम सफा नभएसम्म पदयात्राका लागि ननिस्कन, पदयात्रामा जाँदा पर्याप्त सूचना तथा जानकारी लिई तयारीका साथ जानुहुन र आवश्यकता अनुसार खाने बस्ने व्यवस्थाको लागि अग्रिम बुकिङ्ग समेत गर्न, पदयात्रा गर्दा एक्लै नगई समूहमा जानुहुन र हतारमा नगई विस्तारै उचाई लिंदै जान, टोपी, ज्याकेट लगायतका न्यानो कपडा, तातोपानी सहितको थर्मस, लेक लाग्दा प्रयोग गर्ने औषधीलगायत अन्य आधारभूत औषधी तथा औषधीजन्य सामग्रीहरु लिएरमात्र यात्रा गर्न, पदयात्रामा पर्याप्त मात्रामा तातोपानी, जीवनजल, झोलिलो खानेकुरा खान तथा धुम्रपान तथा मद्यपान नगर्न सचेत गराइएको छ ।

पहिरोको समेत जोखिम हुने भएकोले सिकलेस, घान्द्रुक, लान्द्रुक लगायतका पहाडी तथा ग्रामीण भूभागमा यात्रा गर्दा तथा सवारीसाधन संचालन गर्दा आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

सबै स्थानीय तह, निजी क्षेत्र, पर्यटन व्यवसायी, होटल व्यवसायी, यातायात व्यवसायी, ट्रेकिङ्ग एजेन्सीहरु, नागरिक समाज तथा सरोकारवाला निकायले मौसम पूर्वानुमान बमोजिम आवश्यक भूमिका निर्वाह गरी विपजन्य घटनाबाट हुन सक्ने जिउज्यानको सुरक्षामा खटिन तथा कुनै विपद्जन्य घटना वा आपतकालीन उद्दार गर्नुपर्ने भएमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी इकाइ वा सुरक्षा निकाय, स्थानीय प्रशासनमा जानकारी गराउन आग्रह गरिएको छ।

मौसम विज्ञान विज्ञागले १० देखि १२ कात्तिकसम्म गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा भारी हिमपातको प्रक्षेपण गरेको छ ।

अन्नपूर्ण बेस क्याम्प जान रोक

वर्षा र हिमपातका कारण अन्नपूर्ण वेस क्याम्प जाने पर्यटकका लागि यात्रामा पूर्ण रुपमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय, म्याग्दीले अन्नपूर्ण बेस क्याम्पको म्याग्दीतर्फको उत्तरी वेसमा १४ कात्तिक साँझसम्म जान रोक लगाएको हो।

प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जारी गरेको सूचनाअनुसार हिमपातजन्य मौसमी जोखिमबाट नागरिकको सुरक्षाका निमित्त आवश्यक भूमिका निर्वाह गर्न सबै सरोकारवालालाई आग्रह गरिएको छ।

प्रकाशित: ११ कार्तिक २०८२ १३:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast