काठमाडौँ- जेनजी आन्दोलनका क्रममा देशभरका अदालतमा भएको आगजनी र तोडफोडमा संलग्न व्यक्तिहरूविरुद्ध नेपाल प्रहरीमा जाहेरी दिने निर्णय सर्वोच्च अदालतले गरेको छ।
गत भदौ २४ गते भएको आन्दोलनका क्रममा सर्वोच्च अदालतसहित देशका २३ वटा अदालतमा आगजनी र तोडफोड भएको थियो। अदालतका संरचना, सवारीसाधन र मुद्दा मिसिलहरूमा क्षति पुगेको छ।
आइतबार बसेको सर्वोच्च अदालतको फुलकोर्ट (सबै न्यायाधीशहरूको बैठक) ले घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन जाहेरी दर्ता गर्ने निर्णय गरेको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
‘फुलकोर्ट बैठकले सबै अदालतलाई आफ्ना–आफ्ना जिल्लाका प्रहरी कार्यालयमा जाहेरी दिन निर्देशन दिने निर्णय गरेको छ,’ कोइरालाले भने। उनका अनुसार आगजनीमा संलग्न कतिपयको पहिचान भइसकेको छ। सार्वजनिक भएका भिडियो, तस्बिर र सीसी क्यामेराको फुटेजबाट अन्य पहिचान प्रक्रिया पनि अगाडि बढाइएको छ।



