भक्तपुर- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठीमीले शैक्षिक सत्र २०८२/८३ का कक्षा ११ का विद्यार्थीको विषय दर्ता फाराम भर्ने, शुल्क बुझाउने र फाराम बुझाउनका लागि सूचना सार्वजनिक गरेको छ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा न्यूनतम १.६ जीपीए प्राप्त गरेका विद्यार्थीले मात्र कक्षा ११ को विषय दर्ता आवेदन फाराम भर्न सक्ने बाेर्डले जनाएको छ। उक्त फारामको ढाँचा बोर्डको वेबसाइट neb.gov.np मा उपलब्ध छ। फारामसँगै प्रधानाध्यापकबाट प्रमाणित गरिएको कक्षा १० को ग्रेडसिटको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने बताइएको छ।
फाराम शुल्क दाखिलाको लागि बोर्डले दुई चरणको समयसीमा तोकेको छ। कात्तिक १६ गतेसम्म विलम्ब शुल्कबिनाको रु. ४०० मा फाराम बुझाउन सकिनेछ भने सो समयमा बुझाउन नसकेका विद्यार्थीले कात्तिक ३० गतेसम्म विलम्ब शुल्कसहित रु. ८०० तिरेर फाराम बुझाउन सक्नेछन्। विद्यालयले सबै फाराम तथा बैंक भौचर (वा अनलाइन भौचर) मंसिर ७ गतेभित्र सम्बन्धित बोर्ड कार्यालयमा बुझाइसक्नुपर्नेछ।
विद्यार्थीले आफ्नै हस्तले फाराम भर्नुपर्ने र विद्यालयले सो विवरणलाई बोर्डको वेबसाइटमार्फत अनलाइन प्रविष्टि (Online Entry) गर्नुपर्ने व्यवस्था गरिएको छ। अनलाइन प्रविष्टि कात्तिक ११ गतेदेखि मंसिर ७ गतेसम्म गर्न सकिनेछ।
अतिरिक्त विषय अध्ययन गर्न चाहने विद्यार्थीले पनि आफूले अध्ययन गर्न चाहेको विषय दर्ता फाराममा उल्लेख गर्नुपर्ने बोर्डले जनाएको छ। साथै अनलाइन प्रविष्टि गर्नका लागि आवश्यक Guideline र Video पनि बोर्डको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।
नयाँ सम्बन्धन प्राप्त विद्यालयले विद्यार्थीको विषय दर्ता प्रविष्टि गर्नुअघि विद्यालय कोड प्राप्त गर्नुपर्ने र सोका लागि सम्बन्धित बोर्ड कार्यालयसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्डले देशभरका आफ्ना कार्यालयहरूलाई आआफ्नो कार्यक्षेत्रभित्रका विद्यालयलाई सूचना पुर्याई तोकिएको म्यादभित्र सम्पूर्ण कार्य सम्पन्न गर्न आग्रह गरेको छ।




