काठमाडौँ- प्रमुख राजनीतिक दलका नेताहरूले जेनजी आन्दोलनका क्रममा लुटिएका सुरक्षाकर्मीका हतियार र कारागारबाट फरार कैदीलाई नियन्त्रणमा लिएर मात्रै निर्वाचनको वातावरण बनाउन सकिने सुझाव दिएका छन्। उनीहरूले भयमुक्त, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि शान्ति सुरक्षाको प्रत्याभूति सरकारकै जिम्मेवारी भएको बताएका छन्।
आन्दोलनका क्रममा लुटिएका हतियार अझै फिर्ता नभएको र थुप्रै कैदीबन्दी फरार रहेकाले अहिलेको अवस्थाले आतंक र अन्योलको वातावरण सिर्जना गरेको बताउँदै नेताहरूले यस्तो अवस्थामा निर्वाचन गर्न कठिन हुने बताए।
नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरे सयौँ हतियार लुटिएको र कैदी फरार रहेको अवस्थामा शान्तिपूर्ण निर्वाचनको कल्पना गर्न नसकिने बताउँछन्। ‘शान्तिसुरक्षाको प्रत्याभूतिबिना भयरहित वातावरणमा चुनाव हुन्छ कि हुन्न भन्ने अहिलेको गम्भीर प्रश्न हो,’ उनले रासससँग भनेका छन्। घिमिरेले प्रहरी चौकीहरूमा क्षति पुगेकाले सुरक्षाकर्मीको मनोबल खस्किएको बताए। ‘राज्यले हिंसात्मक घटनामा संलग्नमाथि तत्काल कारबाहीको प्रक्रिया सुरु गर्नुपर्छ, फरार कैदी फिर्ता ल्याउन कार्यदल गठन गर्नुपर्छ,’ उनले भने।
नेता घिमिरेले संसद् विघटनको औचित्यमाथि पनि प्रश्न उठाए। उनले भने, ‘यो प्रणालीले पुरानै शक्ति अनुमोदन गर्ने हो भने निर्वाचनको अर्थ रहँदैन। संविधान संशोधन गरी निर्वाचन प्रणालीमा परिवर्तन आवश्यक छ।’
नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटाले लुटिएका हतियार र फरार कैदी नियन्त्रणमा लिन सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताए। ‘प्रहरीको मनोबल उच्च बनाएर परिचालन गर्न सके समयमै निर्वाचन असम्भव छैन,’ उनले भने। सापकोटाले हतियार र कैदी नियन्त्रणमा नलिए शान्तिसुरक्षा र सद्भावमा खलल पुग्न सक्छ। ‘सरकार र राजनीतिक दलले आपसी विश्वास कायम गरी तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुपर्छ,’ उनले भने।
नेकपा एमालेका नेता महेश बर्तौलाले जेनजी आन्दोलनपछिको अस्थिर अवस्थालाई लोकतान्त्रिक मार्गमा ल्याउने उपाय निर्वाचन नै भएको बताए। ‘जेनजी अभिमत स्वीकार गर्ने र लोकतान्त्रिक प्रक्रियाबाट अघि बढ्ने पक्षमा हामी छौँ,’ उनले भने।
बर्ताैलाको भनाइमा सरकारले राजनीतिक दलहरूलाई विश्वासमा लिएर निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाउनु आवश्यक छ। ‘लुटिएका हतियार फिर्ता ल्याउने र फरार कैदी नियन्त्रणमा लिने कार्य तत्काल प्राथमिकतामा राखोस् सरकार,’ बर्तौलाले भने।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता रामप्रकाश चौधरीले लुटिएका हतियार बाहिर रहँदा शान्तिपूर्ण निर्वाचन हुन नसक्ने बताए। ‘पहिले हतियार र कैदी नियन्त्रणमा लिनुपर्छ, शान्तिसुरक्षाको अवस्था सुनिश्चित भएपछि मात्र निर्वाचनको वातावरण बन्न सक्छ,’ उनले भने। उनले हिंसा, आगजनी र लुटपाटमा संलग्न जोकोहीलाई कारबाही गर्नुपर्ने बताए। ‘राज्यका सम्पत्ति ध्वस्त पारेर देश बलियो बन्न सक्दैन,’ उनले भने।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जेनजी आन्दोलनले उठाएका भ्रष्टाचारविरोधी माग स्वाभाविक भए पनि मुलुकका संरचनामाथि भएको तोडफोड र आगजनी अस्वीकार्य रहेको बताए। ‘भ्रष्टाचार गर्नेलाई कानुनी दायरामा ल्याउन सकिन्छ तर जनताको करबाट बनेका संरचना जलाउने हर्कत नेपाली नागरिकको होइन,’ उनले भने।



