छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक दिइदैछ अर्घ्य

हिमाल प्रेस १० कार्तिक २०८२ ६:२९
4
SHARES
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक दिइदैछ अर्घ्य

काठमाडौँ- कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ ।

बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूर्यले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।

संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन। सूर्य किरणको चिकित्सा माथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ। सूर्यको किरणवाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।

साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा(झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरू भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

व्रतविधि

कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समिति गुह्येश्वरीले जनाएको छ ।

षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ ।

विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । विसं २०४६ देखि सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेको छ । बीचमा केही वर्ष बिदा काटिएकामा अहिले फेरि दिन थालिएको छ ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरी लगायत वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कात्तिक कृष्ण प्रतिपदादेखि लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाइ चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन् । यसैले यो पर्व अत्यन्तै पवित्र भएर मनाउने चाडका रूपमा स्थापित भएको छ ।

प्रकाशित: १० कार्तिक २०८२ ६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast