काठमाडौँ- इजरायलमा बसोबास गर्ने नेपालीहरूले नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निमाण कोषमा १० लाख नेपाली रूपैयाँ जम्मा गरेका छन्। नेपाली राजदूतावास तेल अबिबको आह्वान एवं सक्रियता तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इजरायलको अगुवाइमा रकम जम्मा गरिएको हो।
इजरायलमा झण्डै ५ हजार नेपालीहरू केयरगिभर र कृषिमा कार्यरत छन्। कार्यवाहक राजदूतसमेत रहेका नियोग उपप्रमुख कुमारबहादुर श्रेष्ठका अनुसार एनआरएनएसँग सहकार्य गरेर सो रकम जम्मा गरिएको हो। कतिपय नेपालीले सीधै पनि सो कोषमा रकम जम्मा गर्ने बताएका छन्।
असोज ५ को मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार अर्थ मन्त्रालयले ‘भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश २०८२’ जारी गरेको थियो।
सोहीअनुसार जेन जी आन्दोलन क्रममा तोडफोड र आगजनी भएका संरचना पुनर्निर्माणका लागि सरकारले कोष स्थापना गरेको हो।




