कोशीका पाँच सय विद्यालयमा १० वर्षभित्र आईसीटी पूर्वाधार बनाइने

हिमाल प्रेस ९ कार्तिक २०८२ १८:०६
30
SHARES
कोशीका पाँच सय विद्यालयमा १० वर्षभित्र आईसीटी पूर्वाधार बनाइने

इटहरी- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशका हिमाली र पहाडी जिल्लाका सम्पूर्ण माध्यमिक विद्यालयहरूको पूर्वाधार र विद्यालयमा आईसीटी निर्माण गर्ने बताएका छन्।

धनकुटाको सहिदभूमि गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले खेतान फाउन्डेसनको सहयोगमा १० वर्षमा सक्ने गरी पूर्वाधारको कार्यक्रम अघि बढाइने बताएका हुन्।

खेतान फाउन्डेसनले सहिदभूमि गाउँपालिका-६ मा रहेको ठाकुरदेवी माध्यमिक विद्यालयमा निर्माण गरिदिएको विद्यालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार शिक्षा क्षेत्रको सुधारका लागि अगाडि बढेको बताए। ९२ लाख रुपैयाँको लागतमा निर्माण भएको सो भवन सीपी फाउन्डेसनले निर्माण गरिदिएको हो।

विद्यालयको आठ कोठे भवन निर्माण भएपछि सो पालिकाका सबै विद्यालय सूचना प्रविधि र कम्प्युटरसहितको पूर्वाधार युक्त विद्यालय बनाउने सीपी फाउन्डेसनले जनाएको छ।

मुख्यमन्त्री कार्कीले आफ्नो निर्वाचन क्षेत्रमा यो निर्माणको काम नलगेर सहिदहरूको सम्मान र त्यस क्षेत्रको विकासका लागि विद्यालय निर्माणको कार्यक्रम सहिदभूमिमा गर्नका लागि सीपी फाउन्डेसनलाई आग्रह गरे बमोजिम यहाँ निर्माण भएको बताए।

फाउन्डेसनले विभिन्न दातृ संस्थाको सहयोगमा कोशी प्रदेशको हिमाली तीनवटा जिल्ला र पहाडी आठवटा जिल्लाको करिब पाँच सय वटा विद्यालयको पूर्वाधार र आईसीटी निर्माण गरिदिने समझदारी यसै आर्थिक वर्षभित्रै हुने उनको भनाइ छ।

यो विद्यालय निर्माणका लागि कोशी प्रदेश सरकार र स्थानीय पालिकाको साझेदारी हुनेछ। आवश्यक कानुनी प्रक्रिया मिलाइसकेपछि फाउन्डेसनले कोशी प्रदेश सरकारसँग यो सम्झौता गर्ने र सँगसँगै कार्यक्रमलाई अगाडि बढाउने छ।

यी विद्यालय बनाउनका लागि करिब १५ अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरिएको छ। फाउन्डेसनका संस्थापक सीपी खेतानले यसबाट कोशी प्रदेशमा शैक्षिक सुधारमा ठूलो उपलब्धि हासिल हुने बताए।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका विद्यालयहरू निर्माणको यो ठूलो रकम १० वर्षभित्र सक्ने योजना रहेको बताए। खेतान फाउन्डेसनले त्यो भन्दा अघि नै यस्ता कार्यक्रमलाई सक्नेगरी तयारी गर्न आग्रह गरे पनि प्रदेश र पालिकाको स्रोत साधनलाई समेत प्रयोग गरेर अघि बढ्नुपर्ने भएकाले यसको समय १० वर्ष राख्न लागिएको बताए।

पालिका र प्रदेश सरकारको समेत सहकार्यमा विद्यालय निर्माण हुनेछ। यो कार्यक्रम सुरुवातसँगै कोशी प्रदेशको शैक्षिक क्षेत्रमा ठूलो प्रगति हासिल हुने उनले दाबी गरे। मुख्यमन्त्री कार्कीकै पहलमा आइतबार सहिद भूमि पालिका र सीपी फाउन्डेसनबीच पालिकालाई नमुना पालिका बनाउने गरी समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ।

सो समझदारीमा उल्लेख भएअनुसार सहिदभूमि पालिकामा करिब २ देखि ३ अर्ब रुपैयाँ लगानी हुनेछ।

सम्पूर्ण विद्यालय, स्वास्थ्य चौकी र लघु उद्यमशीलता साथै सडक कालोपत्रे बनाउन यो लगानी गरिनेछ। यस कार्यक्रमका लागि ह्युमन प्राक्टिस फोरमले पनि मुख्य सहयोगी भूमिका निर्वाह गरेको छ।

प्रकाशित: ९ कार्तिक २०८२ १८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast