काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ। यूएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ६ विकेटको क्षतिमा २६२ रन बनायो।
अमेरिकाका लागि ओपनिङ ब्याटर स्मित पटेलले ७५ रन बनाए। ३३औं ओभरमा गुल्सन झाको थ्रोमा सोमपाल कामीबाट रनआउट हुनुअघि उनले १०० बल खेलेर ९ चौका प्रहार गरे। अर्का ओपनर आन्द्रेस गौसलाई आठौं ओभरमा करण केसीले भीम सार्कीबाट ११ रनमा क्याच गराए।
कप्तान मोनाक पटेललाई आरिफ शेखले १० रन बनाएर खेलिरहदा एलबिडब्लूको धरापमा परेका थिए। सन्दीप लामिछानेले मुकामालालाई ४२ रनमा बोल्ड गरेका थिए। शायन जाहानगिरलाई दीपेन्द्रसिंह ऐरीलाई ११ रनमा आउट गरे।
सन्दीप लामिछानले शुभम रन्जनीलाई १९ रनमा गुल्झन झाबाट क्याच गराए। नटआउट रहेका मिलिन्ड कुमारले ७० रन बनाए। उनले ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे। हर्मित सिंहले ६ बलमा २ छक्का प्रहार गर्दै नटआउट १६ रन बनाए।
बलिङमा सन्दीपले २ विकेट लिए। उनले १० ओभरमा ५६ रन खर्चिए। सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले १/१ विकेट लिन सफल भए। करण केसीले सुरुवाती नौ ओभरको आफ्नो स्पेलमा २ मेडनसहित ३७ रन खर्चिए पनि अन्तिम ओभरमा २ छक्का र १ चौकासहित १९ रन खर्चिएका थिए।
कप्तान रोहित पौडेल, विकेटकिपर आसिफ शेख र भीम सार्कीबाहेक बाँकी खेलाडीले बलिङ गरेका थिए।



